वीरगन्ज नाकाबाट गएको १० महिनामा इन्धन आयातमै बाहिरियो १ खर्ब ८१ अर्ब

डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टीतेल आयातमै ठूलो रकम विदेशिएको हो ।

जेष्ठ १७, २०८३

शंकर आचार्य

181 billion rupees worth of fuel was exported through Birgunj border in the last 10 months

What you should know

पर्सा — मुलुकको प्रमुख इन्धन आयात नाका वीरगन्ज हुँदै चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गएको १० महिनामा डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टीतेल आयातमै यति ठूलो रकम विदेशिएको हो ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धन आयातको मूल्य २५ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । गत आवको वैशाखसम्म १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो ।

आयात परिमाणका आधारमा डिजेल अझै पनि सबैभन्दा धेरै भित्रिने इन्धन बनेको छ । चालु आवको वैशाखसम्म ८ लाख ९५ हजार २ सय ४६ किलोलिटर डिजेल आयात भएको छ, जसको मूल्य १ खर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९ लाख ८ सय ५७ किलोलिटर डिजेल आयात हुँदा ७९ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको थियो । परिमाण घटे पनि मूल्य भने उच्च रहेको देखिन्छ ।

पेट्रोलको आयात भने बढेको छ । चालु आवको वैशाखसम्म ३ लाख ९० हजार ६ सय १५ किलोलिटर पेट्रोल आयात भएको छ, जसको मूल्य ३५ अर्ब ७९ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा ३१ अर्ब ७१ करोड रुपैयाँ बराबरको ३ लाख ६७ हजार ३ सय ४४ किलोलिटर पेट्रोल आयात भएको थियो । खाना पकाउने ग्यासका रूपमा प्रयोग हुने एलपीजीको आयात भने घटेको छ । चालु आवको वैशाखसम्म २४ करोड २७ लाख किलो एलपीजी ग्यास आयात हुँदा २५ अर्ब ५४ करोड रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा २६ करोड ४१ लाख किलो एलपीजी आयात हुँदा ३० अर्ब २८ करोड रुपैयाँ बाहिरिएको थियो ।

हवाई यातायातको विस्तारसँगै हवाई इन्धनको आयात बढ्दो क्रममा देखिएको छ । चालु आवको वैशाखसम्म १ लाख ६० हजार किलोलिटर हवाई इन्धन आयात भएको छ, जसको मूल्य १८ अर्ब ४३ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको १ लाख ५३ हजार किलोलिटर हवाई इन्धन आयात भएको थियो ।

मट्टीतेलको प्रयोग क्रमशः घट्दै जाँदा यसको आयात पनि घटेको छ । चालु आवको वैशाखसम्म ४ हजार २ सय किलोलिटर मट्टीतेल आयात हुँदा ३७ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिमा ६ हजार १ सय किलोलिटर मट्टीतेल आयात हुँदा ५५ करोड रुपैयाँ खर्चिएको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully