उचाइ र प्रदूषणरहित वातावरणका कारण आकाशमा रहेका तारा, ग्रह र तारापुञ्जहरू हेर्न सगरमाथा क्षेत्र उपयुक्त्त स्थानमध्ये मानिन्छ । यस केन्द्रको स्थापनाले नेपालमा ‘एस्ट्रो-टुरिजम’ को सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ — सरकारले खगोलीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा अब्जरभेटरी (खगोलीय अवलोकन) केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको विकासका लागि कुल ४ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।
‘खगोलीय पर्यटन प्रवर्द्धन गर्न सगरमाथा आधारशिविरमा अब्जरभेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु,’ उनले भने । वाग्लेले नवप्रवर्तन प्रवर्द्धन गर्न स्थापना गर्ने भनेको ‘नेपाल इन्टरप्राइज फेसिलिटी’का लागि पनि रकम विनियोजन गरेको छ । सरकारले युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको अर्थमन्त्री वाग्लेले बताएका हुन् ।
उचाइ र प्रदूषणरहित वातावरणका कारण आकाशमा रहेका तारा, ग्रह र तारापुञ्जहरू हेर्न सगरमाथा क्षेत्र उपयुक्त्त स्थानमध्ये मानिन्छ । यस केन्द्रको स्थापनाले नेपालमा ‘एस्ट्रो-टुरिजम’ को सम्भावना खुल्ने अपेक्षा गरिएको छ । खगोल विज्ञानमा रुचि राख्ने पर्यटक र अनुसन्धानकर्ताहरूलाई यसले आर्षित गर्न सक्छ ।
