नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा

काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Government announces to usher Nepal into the AI ​​era

काठमाडौँ — सरकारले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरू गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यससम्बन्धी विभिन्न कार्यक्रम उल्लेख छन् । 

बजेटमा काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरिएको छ। ‘यसका लागि सरकारले हजारौँ एआई प्रोसेसिङ युनिटहरू खरिद गर्नेछ,’ वाग्लेले भने, ‘स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गरिनेछ ।’ एआई र स्टार्टअपहरूलाई सहुलियतपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराइने उनले बताए । 

नेपालको अपार ऊर्जा शक्तिलाई एआईको प्रयोगमार्फत सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण गर्न उपयोग गरिने लक्ष्य सरकारले राखेको छ ।

आगामी आवमा एआईको क्षेत्रमा अन्तराष्ट्रिय ख्याती बनाइरहेका कम्तिमा १५ जना शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्ने पनि अर्थमन्त्री वाग्लेले बताए । एआईको युगमा महत्वपूर्ण भूमिका हुने गणितलगायत विषयलाई उच्च प्राथमिकता दिने उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully