पर्वतारोहणमा ३० हजार डलरको पुरस्कार स्थापना

अल्पाइन तथा पर्वतारोहण क्षेत्रमा नेपालमा स्थापना भएको यो हालसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

जेष्ठ १५, २०८३

सुरज कुँवर

$30,000 prize established for mountaineering

What you should know

काठमाडौं — नेपालको पर्वतारोहण क्षेत्र तथा हिमाली समुदायको विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ३० हजार डलर (करिब ४६ लाख नेपाली रुपैयाँ) बराबरको पुरस्कार स्थापना भएको छ । 

'एभरेष्ट एलायन्स नेपाल' र चीनको प्रतिष्ठित 'गोनेचर आउटडोर स्पोर्ट्स ग्रुप कम्पनी लिमिटेड' ले उक्त पुरस्कार संयुक्त रुपमा स्थापना गरेको हो । काठमाडौंमा हालै आयोजित एभरेष्ट समिटर्स समिटका अवसरमा यी दुई संस्थाले पुरस्कार स्थापनासम्बन्धी समझदारीपत्र मा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा चीनको प्रसिद्ध आउटडोर ब्रान्ड 'पेलियट' का उपाध्यक्ष झाओ ले  र एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले हस्ताक्षर गरेका छन् ।

अल्पाइन तथा पर्वतारोहण क्षेत्रमा नेपालमा स्थापना भएको यो हालसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार हो । 

कुल ३० हजार डलरको पुरस्कारलाई ३ भागमा विभाजन गरी जनही वा संस्थागत रूपमा १०/१० हजार डलर (करिब १५/१५ लाख रुपैयाँ) का दरले विजेताहरूलाई प्रदान गरिने  एभरेष्ट एलायन्स नेपालका अध्यक्ष नेपालले बताए । उनका अनुसार पुरस्कार विजेताहरूको निष्पक्ष छनोटका लागि एक जना नेपालीसहित ५ जना अन्तर्राष्ट्रिय विज्ञहरू सम्मिलित उच्चस्तरीय जुरी गठन गरिनेछ । यो पुरस्कार आगामी वर्ष नेपालमा आयोजना हुने 'तेस्रो एभरेष्ट समिटर्स समिट २०२७' का दौरान आधिकारिक रूपमा वितरण गरिनेछ । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले यति ठुलो राशिको पुरस्कार पर्यटन क्षेत्रमा हालसम्म नभएको बताए । 'नेपाल सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा प्रदान गर्ने 'अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार' को राशि १ लाख रुपैयाँ मात्रै रहेको छ, जुन अहिलेसम्मको ठूलो मानिन्थ्यो । हालै घोषणा भएको ३० हजार डलरको यो पुरस्कार नेपालको पर्वतारोहण क्षेत्रकै इतिहासमा सबैभन्दा ठूलो र गौरवपूर्ण पुरस्कार हुनेछ,' अध्यक्ष शेर्पाले भने ।  

सगरमाथाको शिखरमा मानवले पहिलो पटक पाइला टेकेको ऐतिहासिक घटनाको ७३औँ वार्षिकोत्सवका अवसरमा बुधबार एभरेष्ट समिटर्स समिट सम्पन्न भएको थियो । सन् १९५३ मे २९ मा सर एडमन्ड हिलेरी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको सम्झनामा आयोजित 'एभरेष्ट समिटर्स समिट २०२६' मा विश्वका २६ देशका १७६ भन्दा बढी आरोहीहरू काठमाडौंमा एकत्रित भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उद्‌घटन गरेको सम्मेलनमा यो पुरस्कार घोषणा गरीएको थियो । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully