सुक्खा बन्दरगाह निर्माणसँगै सुदूरपश्चिमको व्यापार व्यवसाय बृद्धि हुने र यस क्षेत्रको आर्थिक संबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसका लागि भारतबाट आयात गर्न मात्र नभई निर्यातका लागि पनि तयारी गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
What you should know
कञ्चनपुर — कञ्चनपुरको महाकाली पारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ । कुनै अवरोध विना अहिलेकै गतिमा काम भएमा अबको दुई वर्षभित्र सुक्खा बन्दरगाह निर्माणको काम सम्पन्न हुनेछ ।
बन्दरगाह निर्माणसँगै सुदूरपश्चिमको व्यापार व्यवसाय बृद्धि हुने र यस क्षेत्रको आर्थिक संबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । तर यसका लागि भारतबाट मालसामान आयात गर्न मात्र नभई निर्यातका लागि पनि तयारी गर्नुपर्ने विज्ञहरु बताउँछन् । ‘आयात भन्दा निर्यात बढी गर्ने गरी तयारी गरिनुपर्छ, यसका लागि सुदूरपश्चिममै उद्योगहरु स्थापना हुनुपर्छ,’ प्रतिनिधिसभा सदस्य समेत रहेका इण्टरमोडल यातायात विकास समितिका पूर्वकार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘सुदूरपश्चिममा जडीबुटी र खाद्यजन्य उद्योगको पर्याप्त सम्भावना छ, उत्पादन बढाएर निर्यात गर्न सकिन्छ ।’ तर यहाँयसका लागि अहिलेसम्म खासै तयारी भएको देखिँदैन ।
प्रदेशमा ठूला उद्योग खोल्नेदेखि लगानी भित्र्याउने खालको नीति ल्याउन संघीय सरकारदेखि प्रदेश र स्थानीय तहले पनि आवश्यक पहल गर्नुपर्ने गजुरेल बताउँछन् । दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहबाट आयात भन्दा निर्यात बढी हुने लक्ष्य राखिएको इण्टरमोडल यातायात विकास समितिका पूर्वकार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए । बस्नेतकै नेतृत्वमा सुक्खा बन्दरगाहका लागि सम्भाव्यता अध्ययन भएर उपयुक्त स्थानको खोजी गर्ने कार्य भएको थियो ।
त्यतिबेला विभिन्न चरणमा प्रधानमन्त्रीदेखि मन्त्री र नेपालका लागि भारतीय राजदुत समेतले सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन समेत गरेका थिए । ‘यो सुक्खा बन्दरगाहबाट मालसामान आयात र निर्यात दुवै ठूलो मात्रामा गर्न सकिन्छ, त्यसको सम्भावना प्रबल छ,’ बस्नेतले भने, ‘अहिले सुदूरपश्चिममा भारतबाट आयात र निर्यात हुने दुवै मालासमान वीरगञ्ज र भैरहवाबाट भइरहेको छ, पछि दोधारा चाँदनीबाटै हुँदाण् लागत पनि कम हुन्छ ।’ उनका अनुसार युरोपसम्म निर्यात हुने नेपाली उत्पादनका लागि पश्चिम भारतको समुन्द्री बन्दरगाहसम्म पहुँच हुने भएकाले छोटो दुरी र कम लागत लाग्ने नाका दोधारा चाँदनी नै हो ।
दोधारा चाँदनी सुक्खा बन्दरगाहको पहुँच दिल्लीस्थित जवाहरलाल नेहरु सुक्खा बन्दरगाहसँगै गुजरातको मुन्द्रा बन्दरगाह, मुम्बईको बान्द्रा र उडिसाको धाम्रा बन्दरगाह हुने बस्नेतले बताए । दिल्लीको जवाहरलाल नेहरु सुक्खा बन्दरगाहबाहेक अरु सबै बन्दरगाह दोधारा चाँदनीबाट १४ सयदेखि १५ सय किलोमिटरको दुरीमा पर्छन् ।
‘यो सुक्खा बन्दरगाह नेपाल र भारतमा मात्रै आायत निर्यात गर्न नभई भारतबाट भारतमै निर्यात गर्न पनि सबैभन्दा छोटो र कम लागतको नाका हो,’ बस्नेतले भने, ‘भारतमा उत्पादित बस्तु दोधारा चाँदनी सुक्खा बन्दरगाह हुँदै नेपालको बाटो भएर पूर्वी भारतको उत्तरपूर्वी आसाम सिक्किम, अरुणाचललगायतका राज्यसम्म लैजान छोटो र कम लागतमा पुर्याउन सकिन्छ ।’ उनका अनुसार नेपालमा उत्पादित वस्तुहरु युरोपतर्फ कलकत्ता बन्दरगाह भएर निर्यात भइरहेकोमा दोधारा चाँदनी सुक्खा बन्दरगाहबाट निर्यात गर्न सके अझ सस्तो हुने देखिन्छ ।
बन्दरगाह जति गहिरो भयो त्यति नै ठूला पानीजहाजहरु आउजाउ गर्न सक्छन् । ठूला जहाजको आउजाउ हुने बन्दरगाहमा ढुवानी भाडा कम हुन्छ । त्यसकारण मुन्द्रा र बान्द्रा बन्दरगाहबाट युरोपसम्म मालसामान निर्यात गर्न सहज हुने बस्नेत बताउँछन् ।
दोधारा चाँदनी सुक्खा बन्दरगाह केरला नाकासँग जोड्न सकेमा भारत चीन व्यापारका लागि समेत महत्वपूर्ण हुन सक्ने बस्नेत बताउँछन् । सुक्खा बन्दरगाहको काम अहिले तीब्र गतिमा चलिरहेको छ । दोधारा चाँदनी नगरपालिका १ मायापुरी सामुदायीक वन क्षेत्रमा अहिले निकै चहलपहल छ ।
जेठको चर्को घाममा समेत उक्त क्षेत्रमा धमाधम काम भइरहेको छ । घेरबार लगाउनेदेखि बन्दरगाहका अन्य संरचनाको निर्माण कार्य चलिरहेको छ । अहिले प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टाइन चेकपोष्टको भवन र लोड अनलोड सेड लगायतको निर्माण कार्य सँगै चलिरहेको छ । ‘अ।हिले माटो भरानदेखि भौतिक संरचना निर्माणको काम सँगसँगै चलिरहेको छ,’ सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी कम्प्ट कन्सट्रक्सनका परियोजना प्रबन्धक अरुण श्रीवास्तवले भने, ‘डिसेम्बर २४ देखि काम सुरु भएको हो, हामी लक्ष्य अनुसारनै निर्माण कार्य सम्पन्न गर्ने गरी अगाडी बढिरहेका छौं ।’ उनका अनुसार आयोजना निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे छडलगायतका निर्माण सामग्री धनगढीको गौरीफण्टा नाकाबाट भन्सार छुटमा आयात भइरहेको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहका लागि भारतकै निर्माण कम्पनी कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । ३० महिनाभित्र काम सक्ने लक्ष्य राखिएको छ । इण्टरमोडल यातायात विकास समितिले निर्माणका लागि साउनमा साइट हस्तान्तरण गरेको थियो ।
त्यतिबेलादेखि नै उक्त क्षेत्र सफा गर्ने र सम्याउने काम सुरु गरिएको हो । श्रीवास्तवका अनुसार घेरबार लगाउने कामदेखि अन्य भौतिक संरचना निर्माण लगायत सबै काम एकै साथ चलिरहेको छ । बर्खायाममा काम प्रभावित हुन सक्ने भएकाले त्यसअगाडी तीब्र गतिमा काम भइरहेको हो । ‘अहिले सुक्खा बन्दरगाहको काम तीब्र गतिमा भइरहेको छ,’ इण्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले भने, ‘पर्खाल, आवास क्षेत्रदेखि आवश्यक भौतिक संरचना लगायतको काम चलिरहेको छ ।’ उनका अनुसार अहिले मलेरिया नालामा पुल निर्माणको काम पनि भइरहेको छ । सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १० प्रतिशत भन्दा बढी भइसकेको छ । निर्माण कार्यको अनुगमनको काम भारतकै राइट्स लिमिटेडले गरिरहेको छ । इण्टरमोडल यातायात विकास समितिले सहजीकरणको काम गरिरहेको छ ।
सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका १ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन खाली गरिएको छ । उक्त वनमा रहेका १ हजार ७०२ रुख कटान गरिएको थियो । अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचना निर्माण भइरहेका हुन् ।
सुक्खा बन्दरगाह निर्माणकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि मलेरिया नालासम्म ८ किलोमिटर बढी ६ लेनको पहुँच मार्ग निर्माण भइसकेको छ । सुक्खा बन्दरगाह निर्माण भएपछि यस क्षेत्रमा व्यवसायिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । भारततर्फ पनि सीमावर्ती बनवासा र चकरपुरको बीचमा राष्ट्रिय राजमार्गको जोगबुडा क्षेत्रबाट सुक्खा बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण भइरहेको छ ।
भारततर्फ पनि एकीकृत जाँच चौकी निर्माणको काम अगाडि बढेको छ । नेपालतर्फ निर्माण भइरहेको क्षेत्रबाट २ सय मिटर पर भारतीय क्षेत्रमा निर्माणको काम अगाडि बढेको हो । यसका साथै भारतको राष्ट्रिय राजमार्गमा पर्ने उत्तराखण्डको चम्पावत जिल्लामा रहेको जोगबुडा नदी छेउबाट फ्लाई ओभर निर्माण गरेर एकीकृत जाँच चौकीसम्मको पहुँच मार्ग निर्माणको काम धमाधम चलिरहेको छ ।
