५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जिप र भ्यानको आयातमा सबैभन्दा धेरै भएको छ ।
What you should know
पर्सा — सवारीसाधन आयात हुने मुख्य प्रवेश विन्दु वीरगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन आयात उल्लेख्य रूपमा बढेको छ । विशेषगरी मध्यम क्षमताका विद्युतीय कार तथा दुईपांग्रे ईभीको आयात अघिल्लो वर्षको तुलनामा डेढ गुनाले बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा अधिकांश ईभीको आयात र राजस्व संकलन बढेको हो । समग्रमा विद्युतीय सवारी साधनको आयात डेढ गुनाले बढेको छ भने यी सवारी साधनको आयातबाट हुने राजश्व संकलनमा करीब अढाइ गुनाले वृद्धि भएको छ ।
तथ्यांकअनुसार ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जिप र भ्यानको आयातमा सबैभन्दा धेरै भएको छ । गत वर्ष सो अवधिमा ६ वटा मात्रै आयात भएकोमा यस वर्ष ६५७ वटा आयात भएका छन् ।
यस्तै, विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात पनि झण्डै दोब्बर छ । गत वर्ष ४ हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएकोमा चालु आवमा बढेर ८ हजार ८६७ पुगेको छ । तीनपांग्रे अटोको आयात पनि बढेको छ । गत वर्ष १ हजार १३३ वटा आयात भएकोमा यस वर्ष १ हजार ६५४ वटा आयात भएको छ ।
अनअसेम्बल्ड विद्युतीय तीनपांग्रे सवारीको आयातमा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ६४० वटा आयात भएकोमा यस वर्ष २ हजार ४० वटा आयात भएका छन् । तर, ५० किलोवाटसम्मका विद्युतीय कार, जिप तथा भ्यानको आयात भने घटेको छ । गत वर्ष १४१ वटा आयात भएकोमा यस वर्ष १८ वटा मात्रै आयात भएका छन् । त्यस्तै २०१ देखि ३०० किलोवाट क्षमताका उच्च शक्तिका विद्युतीय गाडीको आयात १५ बाट घटेर २ वटामा झरेको छ ।
भन्सार तथ्यांकअनुसार चालु आवको वैशाखसम्म वीरगन्ज नाकाबाट कुल १५ हजार २७१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । यसबाट २ अर्ब २ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ४२ वटा ईभी आयात हुँदा ८१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम पेट्रोलियम पदार्थको बढ्दो मूल्य, चार्जिङ पूर्वाधार विस्तार लगायतका कारण नेपालमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको बताउँछन् ।
