१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्ट उद्योगका कर्मचारी आन्दोलित, फागुनयता उत्पादन बन्द

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी र श्रमिक १४ महिनादेखि तलबलगायतका सुविधा नपाउँदा दैनिक जीवनमै समस्या परेको भन्दै आन्दोलित भएका छन् ।

जेष्ठ ८, २०८३

राकेश नेपाली

Udayapur Cement Industry employees protest after not receiving salaries for 14 months, production halted since February

What you should know

उदयपुर — १४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्ट उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारी आन्दोलित बनेका छन् । उद्योगमा कार्यरत मजदुर–कर्मचारीले महिनौंदेखि तलब, सञ्चय कोष, नागरिक लगानी कोष, बिमा र अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

सरकारी स्वामित्वको उद्योगमा लामो समयदेखि सुविधा रोकिँदा दैनिक जीवनयापनमै समस्या भएको र केही कर्मचारीले ज्यानसमेत गुमाउनु परेको भन्दै उनीहरूले समाधानका लागि सरकारले तत्काल पहल गर्न माग गरेका छन् ।

शुक्रबार उद्योग परिसरमा व्यानर र पर्चासहित बिरोधमा उत्रिएका श्रमिकहरुले १४ महिनाको तलब/ज्याला, ४५ महिनासम्म तलबबाट कट्टा गरिएको सञ्चय कोष रकम, ३५ महिनासम्म कट्टा गरिएको नागरिक लगानी कोष, तीन वर्षको बिमा प्रिमियम र सुरक्षा तथा दैनिक ज्यालादारीको रकम पाउन बाँकी रहेको बताएका छन् । 
उद्योगको व्यवहारले कर्मचारीहरू आर्थिक संकटमा परेको र उपचार गर्न नपाउँदाकतिपय बिरामीसमेत परेको मजदुर संघर्ष समितिका संयोजक देवेन्द्र झाले बताए । उनका अनुसार २०७८ सालदेखि अनिवार्य अवकाशमा गएका १३९ कर्मचारीले समेत सेवा–सुविधा पाएका छैनन् ।

सेवा–सुविधा नपाउँदै आठ जना कर्मचारीको मृत्यु भएको बताउँदै उनले समस्या समाधान नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । उद्योगमा कार्यरत श्रमिक, कर्मचारीहरुको १४ महिनाको ८ करोड ८० लाख ५३ हजार रुपैयाँ तलवसुविधा भुक्तान हुन बाँकी रहेको उनले बताए । उद्योगले २०८१ चैतदेखि कर्मचारीलाई तलब दिन बाँकी रहेको जनाएको छ । 

उता, उदयपुर सिमेन्ट उद्योग लिमिटेडले उद्योग तथा वाणिज्य मन्त्रालयलाई पठाएको पत्रमा पनि कर्मचारीको बाँकी दायित्वको कुरा उठाउँदै रकम व्यवस्था गरिदिन आग्रह गरेको छ । उद्योगले कच्चा पदार्थ खरिद गर्न नसकिएको, बिक्री वितरण घटेको र उत्पादन न्यून भएकाले नियमित तलब र अवकाश सुविधाको भुक्तानीमा कठिनाइ भएको बताएको छ ।

कम्पनीको विवरण अनुसार कार्यरत र अवकाशप्राप्त कर्मचारीसँग सम्बन्धित दायित्व करिब ३२ करोड ७९ लाख १२ हजार ९ सय ६५ रुपैयाँ ५० पैसा पुगेको छ । उद्योगले तलब, सञ्चय कोष, नागरिक लगानी कोष, अतिरिक्त कार्य समय भत्ता, बिमा, विदा मूल्यांकन, सट्टा विदा, महंगी भत्तालगायत विभिन्न शीर्षकमा ठूलो रकम बाँकी रहेको जनाएको छ । उद्योगले पछिल्लो ९ महिनामा सिमेन्ट बिक्री गरेर ९ करोड ६५ लाख आम्दानी गरेको उद्योगका लेखा प्रमुख प्रकाश पोखरेलले बताए । गत फागुन १ देखि उद्योगको उत्पादन बन्द छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully