पादावा शेर्पा ३१औं पटक सगरमाथा आरोहणको तयारीमा

सोलुखुम्बुको पाङ्बोचे निवासी ४९ वर्षीय पासाङदावा शेर्पाले हालै विश्वको सर्वोच्च शिखर ३०औं पटक सफलतापूर्वक आरोहण गरेका थिए ।

जेष्ठ ७, २०८३

सुरज कुँवर

Padawa Sherpa prepares to climb Mount Everest for the 31st time

काठमाडौँ — सोमबार ३०औं पटकका लागि सगरमाथा आरोहण गरेका अनुभवी पर्वतारोहण गाइड पासाङदावा (पादावा) शेर्पाले ३१औं पटकका लागि विहीबार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन् । 

उनी आबद्ध हिमाल आरोहण कम्पनी ट्र्याक नेपाल एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक सागरकुमार पौडेलले यो जानकारी दिएका हुन् ।

पौडेलका अनुसार मौसम अनुकूल रह्यो भने शेर्पा भोलि बिहान शिखरमा पुग्ने अपेक्षा गरिएको छ । ‘उहाँ फेरि आरोहणमा जानुभएको छ र अर्को सफल आरोहण गर्ने लक्ष्यमा हुनुहुन्छ,’ पौडेलले बताए।

सोलुखुम्बुको पाङ्बोचे निवासी ४९ वर्षीय पासाङदावा शेर्पाले हालै विश्वको सर्वोच्च शिखर ३०औं पटक सफलतापूर्वक आरोहण गरेका थिए । यससँगै उनी विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको सूचीमा पुगेका छन् ।

यदि उनले यस सिजनमा फेरि सफल आरोहण गरे भने, उनी ३२ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाको विश्व कीर्तिमानको नजिक पुग्नेछन् । पासाङदावा शेर्पाले पहिलो पटक सन् १९९८ मा सगरमाथा आरोहण गरेका थिए । 

अघिल्लो वर्ष पनि उनले एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणको सर्वाधिक कीर्तिमानका लागि शेर्पा गाइडहरूबीच प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा बढ्दै गएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully