विश्व पर्वतारोहण महासंघमा चुनिए ३ नेपाली व्यवसायी

विश्व पर्वतारोहण महासंघले विशेषगरी पर्वतारोहण सुरक्षा मापदण्ड तय गर्ने, क्लाइम्बिङ उपकरणको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने लगायत काम गर्छ ।

जेष्ठ ७, २०८३

सुरज कुँवर

3 Nepali businessmen elected to World Mountaineering Federation

काठमाडौँ — विश्वभरका पर्वतारोहण, क्लाइम्बिङ र हिमाली गतिविधिसँग सम्बन्धित राष्ट्रिय संस्थाहरूको अन्तर्राष्ट्रिय छाता संगठनमा तीन नेपाली पर्यटन व्यवसायी निर्वाचित भएका छन् ।

नक्सालस्थित नेपाल पर्वतारोहण संघका अनुसार स्विट्जरल्यान्डमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) का अनुसार नेपाली व्यवसायी राजेन्द्रबहादुर लामा यूआईएए बोर्डको पूर्ण सदस्य (फूल मेम्बर), ईश्वरी पौडेल र गोकुल थापा आयोग सदस्य (कमिसन मेम्बर) मा चुनिएका हुन् । यी तीनै जना व्यवसायी नेपाल पर्वतारोहण संघका पदाधिकारी हुन् । 

यूआईएए माउन्टेनियरिङ कमिसनका अध्यक्ष ग्रेग मोस्लीले सन् २०२६ को वसन्त बैठकबाट लामालाई यूआईएए बोर्डको पूर्ण सदस्यका रूपमा अनुमोदन गरिएको जानकारी दिएका छन्। 

उनले गोकुल थापा माउन्टेनियरिङ कमिसन सदस्य तथा ईश्वरी पौडेल माउन्टेन प्रोटेक्सन कमिसन सदस्यमा निर्वाचित भएको बताए ।

फ्रेन्चमा ‘युनियन इन्टरनेशनल डेस एसोसिएसन ड’अल्पिनिज्म’ भनेर चिनिने यूआईएएको स्थापना सन् १९३२ मा भएको थियो । यसको मुख्य उद्देश्य सुरक्षित, जिम्मेवार र दिगो पर्वतारोहण प्रवर्द्धन गर्ने रहेको छ । 

यस संस्थाले विशेषगरी पर्वतारोहण सुरक्षा मापदण्ड तय गर्ने, क्लाइम्बिङ उपकरणको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने लगायतका काम गर्छ । 

यूआईएएको ‘फूल मेम्बर’ अर्थात् सक्रिय सदस्य कुनै देशको राष्ट्रिय पर्वतारोहण वा क्लाइम्बिङ महासंघ हुन्छ, जसले आफ्नो देशको प्रतिनिधित्व गर्दै यूआईएएमा पूर्ण मतदान अधिकार राख्छ ।

यूआईएएको ‘फुल मेम्बर’ र ‘कमिसन मेम्बर’ बीच मुख्य भिन्नता संस्थागत र व्यक्तिगत भूमिकामा आधारित हुन्छ। ‘फूल मेम्बर’ देशको आधिकारिक महासंघका रूपमा मतदान अधिकारसहित रहने संस्था हो भने ‘कमिसन मेम्बर’ प्राविधिक तथा विषयगत कार्यका लागि चयन गरिएको व्यक्ति हुन्छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully