२०५० तिर जिरीबाट मात्रै १८ हजार केजी चिज र ६ हजार केजी नौनी–घिउ उत्पादन हुने गरेकामा अहिले सिजनमा मुस्किलले ४ सय केजी चिज उत्पादन।
What you should know
दोलखा — नेपालमा व्यावसायिक रूपमा सुरु भएको पहिलो दुग्धजन्य पदार्थ याक चिजको उत्पादन पछिल्लो समय संकटमा छ । दूधको किनबेच नहुने तत्कालीन समयमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले चिज उद्योगको विकासमा सहयोग गर्न स्विस दुग्ध विज्ञ वर्नर शुल्थेसलाई नेपाल पठाएका थिए । उनैले २००९ सालमा याक चिज उत्पादन सुरु गरेका हुन् ।
निजी लगानीमा २००९ सालमा उनले रसुवाको लाङटाङमा निकै दुःख गरेर हिमाली क्षेत्रको नाक (पोथी याक) को दूधबाट चिज उत्पादन गर्ने कारखाना खोलेका थिए । त्यतिबेला लाङटाङ घुम्न आउने पर्यटकले याक चिज खरिद गर्थे । काठमाडौंको असनमा ल्याएर बेच्ने गरेका थिए । लाङटाङमा कारखाना खुलेको ६ वर्षपछि २०१५ सालमा सोलुखुम्बुको थोदुङमा उनैले अर्को याक चिज उद्योग खोलेका थिए । २०१७ सालमा सोलुखुम्बुकै पात्लेमा पनि उनले अर्को कारखाना खोलेका थिए ।
२०२७ सालमा दुग्ध विकास संस्थान (डीडीसी) ले गोसाइँकुण्डमा व्यावसायिक रूपमा उत्पादन गर्न याक चिज कारखाना खोलेको थियो । त्यसको एक वर्षपछि जिरीको चेर्दुङमा स्विस सरकारको सहयोगमा डीडीसीले याक चिज कारखाना खोलेको थियो । जिरीको कारखानाबाटै आफूले चिज बनाउन सिकेको तत्कालीन समयमा म्यानेजर बनेका केशर जिरेल सम्झिन्छन् ।
२०३१ मा स्विस सरकारले देशभरका १२ जनालाई याक चिज बनाउन तालिम दिएको थियो, जसमा जिरेल पनि थिए । उनले लाङटाङ, गोसाइँकुण्डका चिज कारखानामा डीडीसीको कर्मचारी बनेर याक चिज उत्पादन गरेको बताए । २८ वर्ष हिमाली क्षेत्रको चिज कारखानामा काम गरेका जिरेलले खाद्यतर्फ याक चिज अन्तर्राष्ट्रिय गुणस्तर चिह्न पाउने पहिलो वस्तु भएको जानकारी दिए ।
२००९ मा टोनी हेगनसँगै साथी आएका वार्नरले हिमाली क्षेत्रको दूधलाई अन्तर्राष्ट्रियस्तरमा याक चिजका रूपमा चिनाएको उनले बताए । २८ वर्ष कर्मचारी बनेर बिताएका जिरेल जन्मँदा नेपालमा याक चिज कारखाना पनि खुलेको थियो । ‘२०४४ मा वार्नरसँग भेट हुँदा पहिलो चिज कारखाना खोल्न भरियालाई सिक्का बोकाएर लाङटाङसम्म पुगेर किनेको दूधले कारखाना खोलेको भन्थे,’ जिरेलले भने, ‘त्यो बेलामा सिक्का चल्थ्यो, तिमीले अब जिरीको कारखानामा त्यो बेलाको दुःख भोग्नुपर्दैन भन्थे ।’
२०३३ मा तत्कालीन राजा वीरेन्द्र फ्रान्स भ्रमणमा जाँदा याक चिज उपहार बोकेर गएको उनले बताए । २०४० तिर भुटान र चीन सरकारले याक चिज बनाउने तरिका सिक्न मान्छे पठाउने गरेको उनले सुनाए । ‘त्यहाँ राजाले भोजमा सबैलाई चखाएपछि याक चिज झनै चर्चित भयो,’ जिरेलले भने, ‘हामीले चीन र भुटानबाट आएकालाई तालिम पनि दियौं ।’ २०५६ मा स्विट्जरल्यान्डमा र फिलिपिन्समा ४/४ महिना बाख्रा र गाईको दूधबाट चिज बनाउन अध्ययनसहित केही कारखानामा काम पनि गरेको उनले बताए ।
लाङटाङबाट सुरु भएको ७५ वर्ष इतिहास बोकेको याक चिज कुनै समय डीडीसीबाट ठूलो मात्रामा उत्पादन हुने गर्थ्यो । २०५० तिर जिरीबाट मात्रै १८ हजार केजी चिज र ६ हजार केजी नौनी–घिउ उत्पादन हुने गरेको जिरेलले बताए । ‘त्यो बेलामा सबैभन्दा बढी जिरीमा याक चिज उत्पादन हुन्थ्यो, अन्य कारखानामा पनि ५ देखि १० हजार केजी उत्पादन हुने गरेको थियो,’ उनले भने, ‘हामी उत्पादन गरेर संस्थानलाई पठाउँथ्यौं, यहाँबाट विदेश निर्यात हुन्थ्यो ।’
हिमाली क्षेत्रमा चौंरी र याक पाल्नेहरू बिस्तारै विस्थापन हुन थालेपछि चिजको उत्पादन घट्दै गएको उनले बताए । उनी सेवाबाट निवृत्त हुने समय २०५६ मा चेर्दुङ याक चिज कारखानामा ६ हजार केजी चिज उत्पादन गरेका थिए । ‘अहिले त हिमाली क्षेत्रमा याक चौंरी पाल्नै छाडेका छन्, सरकारले हिमाली किसानलाई बेवास्ता गर्दा चिज कारखाना धमाधम बन्द भइरहेका छन्,’ उनले भने, ‘संसारलाई चिनाएको याक चिज अहिले पाउन मुस्किल छ, गर्विलो इतिहास बोकेको याक चिज बिलाउँदै गएकोमा दुःख लाग्छ ।’
दोलखामा जिरी र गौरीशंकर गाउँपालिका–६ चंखुमा डीडीसीको स्वामित्वका दुई वटा चिज कारखाना छन् । हाल यी कारखानाबाट सिजनमा मुस्किलले ४ सय केजी चिज उत्पादन हुने गरेको छ । निजी क्षेत्रबाट पनि कालिञ्चोकमा याक चिज कारखाना सञ्चालनमा आए पनि दूधको अभाव झेलिरहेको छ । याक चिज उत्पादन घट्नुको मुख्य कारण हिमाली क्षेत्रमा चौंरीपालन घट्नु रहेको जिरेल बताउँछन् । हिमाली क्षेत्रका किसानलाई याक चौंरी पाल्न प्रोत्साहन नगरे यस्ता उद्योग थप संकटमा पर्ने उनको भनाइ छ ।
