काठमाडौंमा चिनियाँ पर्यटन दिवस

काठमाडौंमा मनाइएको १६औँ चिनियाँ पर्यटन दिवसमा पर्यटन प्रवर्द्धन, साँस्कृतिक आदानप्रदान र हवाई कनेक्टिभिटी विस्तारमा सहकार्यको विस्तृत छलफल गरियो ।

जेष्ठ ६, २०८३

कान्तिपुर संवाददाता

Chinese Tourism Day in Kathmandu

What you should know

काठमाडौं — नेपाल र चीनबीच पर्यटन तथा हवाई सम्पर्कलाई अझ मजबुत बनाउने उदेश्यले काठमाडौंमा १६औँ ‘चिनियाँ पर्यटन दिवस’ मनाइएको छ।

चाइना साउदर्न एयरलाइन्स, चीनियाँ राष्ट्रिय पर्यटन कार्यालय (काठमाडौं) तथा चीन साँस्कृतिक केन्द्र (नेपाल) को संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा बुधबार आयोजित कार्यक्रममा नेपाल–चीनबीच पर्यटन प्रवर्द्धन, साँस्कृतिक आदान–प्रदान तथा हवाई कनेक्टिभिटी विस्तारका सम्भावनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा दुबै देशका पर्यटन व्यवसायी, ट्राभल ट्रेड साझेदार, कूटनीतिक नियोगका प्रतिनिधि, हवाई क्षेत्रका अधिकारी तथा सरोकारवालाहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चीन साँस्कृतिक केन्द्र (नेपाल) का उपनिर्देशक लिउ झानपिङले पर्यटन केवल भ्रमण मात्र नभई अन्वेषण, जीवनशैली र राष्ट्रहरूबीच साँस्कृतिक आदान–प्रदान तथा मित्रताको महत्वपूर्ण माध्यम भएको बताए ।

उनले नेपाल–चीनबीच पर्यटन सहकार्य अझ विस्तार गर्न सकिने धेरै क्षेत्र रहेको उल्लेख गर्दै हवाई सम्पर्क, गन्तव्य प्रवर्द्धन तथा साँस्कृतिक आदान–प्रदानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

नेपाल आउने पर्यटकमध्ये चिनियाँको हिस्सा दोस्रो ठूलो स्रोत बजारका रूपमा रहेको तथ्यसमेत कार्यक्रममा उल्लेख गरिएको थियो । सहभागीहरूले चीनबाट नेपालमा आउने पर्यटक प्रवाहलाई अझ सहज र दिगो बनाउन हवाई सेवा विस्तार निर्णायक हुने बताएका छन् ।

कार्यक्रममा नेपाल–चीनबीचको हवाई सम्पर्कले पर्यटन विकासमा प्रत्यक्ष योगदान पुर्‍याइरहेको उल्लेख गरिएका छ । हाल काठमाडौं चीनका विभिन्न सहरहरू ग्वाङ्झाउ, छेङ्दु, सियानलगायतसँग सिधा उडानमार्फत जोडिएको छ ।

चाइना साउदर्न एयरलाइन्सले सन् २००७ देखि काठमाडौं उडान सञ्चालन गर्दै आएको र नेपालमा १९ वर्ष पुरा गरेको जनाएको छ । कम्पनीले काठमाडौं–ग्वाङ्झाउ रुटमार्फत चीनसहित एसिया, युरोप, उत्तर अमेरिका,  ओसियाना, मध्यपूर्व र अफ्रिकासम्मको कनेक्टिभिटी प्रदान गर्दै आएको छ ।

एयरलाइन्सले हाल आधुनिक ए३२० नियो विमानमार्फत काठमाडौं उडान सञ्चालन गरिरहेको छ र बजार मागअनुसार उडान संख्या तथा क्षमता विस्तार गर्ने योजना रहेको जनाएको छ ।

कार्यक्रममा सहभागीहरूका अनुसार चिनियाँ वायुसेवाहरूले नेपाल–चीन पर्यटन सम्बन्ध विस्तारमा सिधा उडान संख्या वृद्धि गरी पर्यटक आवागमन सहज बनाउन, काठमाडौंलाई चीनका थप क्षेत्रीय सहरहरूसँग जोड्न,  ट्रान्जिट हब (विशेषगरी ग्वाङ्झाउ)मार्फत तेस्रो देशसँग कनेक्टिभिटी विस्तार गर्न,  सस्तो र प्रतिस्पर्धी भाडादरमार्फत पर्यटक आकर्षण बढाउन, चार्टर र सिजनल उडानमार्फत पर्यटन सिजन व्यवस्थापन गर्नेलगायतका भूमिका खेल्न सक्छन् । 

नेपाल–चीनबीच पूर्वाधार र पर्यटन क्षेत्रमा चीन प्रमुख विकास साझेदार देशहरूमध्ये एक मानिन्छ । तर, व्यापार असन्तुलन कायम रहेको छ । नेपालले चीनबाट मेसिनरी, इलेक्ट्रोनिक्स, कपडा तथा निर्माण सामग्री आयात गर्ने गरेको छ भने नेपालबाट जडिबुटी, हस्तकला र कृषि उत्पादन निर्यात हुँदै आएको छ।

ट्रान्स–हिमालयन कनेक्टिभिटी विस्तारका प्रयासहरूअन्तर्गत हवाई तथा स्थल दुवै मार्गलाई सुदृढ बनाउने पहल भइरहेको छ । यसले पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

चाइना साउदर्न एयरलाइन्सका अनुसार कम्पनीले विश्वका ४० देशका २२४ गन्तव्यमा दैनिक ३ हजारभन्दा बढी उडान सञ्चालन गरिरहेको छ । कम्पनीसँग ९७३ भन्दा बढी विमान छन् । कार्यक्रममा सन् २०२५ का उत्कृष्ट प्याकेज बिक्री गर्ने नेपालस्थित शीर्ष १० ट्राभल एजेन्सीहरूलाई सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोजकहरूले चीन–नेपाल सहकार्यलाई अझ संस्थागत र प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, हवाई सेवा विस्तार तथा साँस्कृतिक समझदारीलाई दीर्घकालीन रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully