नेपालमा बनेको अचार बेलायत, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, मलेसियालगायत मुलुकमा निर्यात हुँदै आएको छ ।
What you should know
काठमाडौँ — मुलुकमा उत्पादित अचार निर्यात बर्सेनी बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १६ करोड ८६ लाख ९० हजार रुपैयाँको अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ । उक्त अवधिमा नेपालमा उत्पादित ३ लाख ५० हजार १३ किलो अचार विभिन्न देशमा निर्यात भएको छ ।
विभागले आर्थिक वर्ष २०७७/०७८ देखि मात्रै अचार निर्यातको तथ्यांक राख्न थालेको थियो । त्यसअघि अचार निर्यात भए पनि थोरै हुने भएकाले छुट्टै तथ्यांक राखिने व्यवस्था गरेको थिएन ।
आर्थिक वर्ष २०७७/०७८ मा ३९ लाख २२ हजार रुपैयाँको ११ हजार ४४ किलो अचार निर्यात भएको थियो । त्यसयता अचार निर्यात बढ्दै गइरहेको विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ८६ लाख ६४ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।
नेपालमा बनेको अचार बेलायत, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, मलेसियालगायत मुलुकमा निर्यात हुँदै आएको छ ।
कोरोना महामारीपछि नेपालमा अचार उत्पादन उल्लेख्य रूपमा बढेको छ । स्वदेशमै उत्पादित विभिन्न ब्रान्डका अचार विशेषगरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपालीहरूबीच लोकप्रिय बन्दै गएका छन् । यसै कारण नेपाली अचारको माग विदेशमा बढेको हो ।
अचार निर्यात मात्र नभई आयात समेत हुने गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा ९ करोड ९५ लाख २४ हजार रुपैयाँको अचार आयात भएको विभागको तथ्यांक छ ।
चीनबाट ७ करोड ८ लाख ६४ हजार रुपैयाँको १ लाख ७ हजार ४७१ किलो अचार आयात भएको छ । भारतमा अचार निर्यात ४ हजार रुपैयाँको हुँदा २ करोड ८२ लाख ५६ हजार रुपैयाँको आयात गरेको छ ।
