३०औं पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही

काठमाडौंस्थित ट्याग नेपाल एक्सपिडिसन प्रालिमा आबद्ध माउन्टेन गाइड पादावाले विदेशी तथा नेपाली आरोहीहरूको टोलीसँग सोमबार बिहान शिखर चुमेको कम्पनीले जनाएको छ ।

जेष्ठ ५, २०८३

सुरज कुँवर

Padava becomes world's second-most climber after climbing Mount Everest for 30th time

What you should know

काठमाडौं — सोलुखुम्बुको पाङ्बोचेका ४९ वर्षीय पासाङदावा (पादावा) शेर्पाले सोमबार ३०औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान बनाएका छन् । काठमाडौंस्थित ट्याग नेपाल एक्सपिडिसन प्रालिमा आबद्ध माउन्टेन गाइड पादावाले विदेशी तथा नेपाली आरोहीहरूको टोलीसँग सोमबार बिहान शिखर चुमेको कम्पनीले जनाएको छ । 

कम्पनीका सञ्चालक सागरकुमार पौडेलका अनुसार पादावाले यसै सिजनमा पुनः सगरमाथा आरोहण गर्ने तयारीसमेत गरिरहेका छन् । 'उहाँ आज आधार शिविर झर्दै हुनुहुन्छ । फेरि आरोहणमा जानेबारे छलफल हुँदैछ,' पौडेलले कान्तिपुरसँग भने ।

यदि उनले यही सिजनमा पुनः सफल आरोहण गरे, उनी ३२ पटक सगरमाथा आरोहण गरिसकेका कामीरिता शेर्पाको विश्व कीर्तिमान नजिक पुग्नेछन् । 

पादावाले २०५५ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए भने कामीरिताले पहिलो पटक २०५१ मा सगरमाथा चढेका थिए । पादावाले गत वर्ष एकै सिजनमा दुई पटक सगरमाथा चढ्दै २८ औं र २९ औं आरोहण पूरा गरेका थिए ।

यता कामीरिताले जेठ ३ गते ३२औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका थिए। उनी आबद्ध सेभेन समिट ट्रेक्सका एक सञ्चालकका अनुसार कामीरिता हाल आधार शिविरमा छन् र फेरि आरोहणमा जाने वा काठमाडौं फर्किनेबारे निर्णय भइसकेको छैन। 'सायद उहाँ पासाङदावाको निर्णय पनि हेरिरहनुभएको छ,'  ती सञ्चालकले भने । 

नेपालको पर्वतीय पर्यटनमा सगरमाथा आरोहणको सर्वाधिक कीर्तिमान पहिलो पटक आप्पा शेर्पाले २१ पटक आरोहण गरेर बनाएका थिए। त्यसलाई फुर्वाटासी शेर्पाले बराबरी गरेका थिए। कामीरिताले २०७४ सालमा २१ औं पटक सगरमाथा आरोहण गर्दै उक्त कीर्तिमान भेटेका थिए र त्यसयता लगातार आफ्नै रेकर्ड शुरक्षित गर्दै आइरहेका छन् ।

२०८० सालको वसन्तयाममा पासाङदावाले एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गर्दै २७ आरोहणको कीर्तिमानमा कामीरितालाई भेटेका थिए। त्यसको एक साताभित्रै कामीरिताले पनि पुनः आरोहण गर्दै २८ औं पटकको नयाँ विश्व कीर्तिमान बनाउँदै ६ दिनपछि पुन सर्वाधिक सगरमाथा आरोहीको रेकर्ड सुरक्षित गरेका थिए ।

त्यसयता यी दुई शेर्पा गाइडबीच सर्वाधिक आरोहणको प्रतिस्पर्धा चर्किंदै गएको छ । कामीरिता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा परिचित अनुहार हुन् । उनी प्रायः हिमाल पर्यटन, जलवायु परिवर्तन र शेर्पा समुदायको भूमिकाबारे सार्वजनिक रूपमा बोलिरहेका देखिन्छन् । पादावा भने तुलनात्मक रूपमा शान्त र लो-प्रोफाइलमा बस्छन् । उनी आफ्ना कीर्तिमानबारे सार्वजनिक चर्चा गर्न रुचाउँदैनन् । सगरमाथाको हिउँले अहिले यी दुई आरोहीलाई एउटै दौडको कथामा बाँधेको छ । र, यो दौड अझै सकिएको छैन ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully