प्राधिकरणको डीआरसी र डीसीआईको ठेक्का चिनियाँ कम्पनीलाई

विपद् पुनःस्थापना केन्द्र र डेटा सेन्टर इन्टरकनेक्टको ठेक्का प्रक्रिया सकिएसँगै चीनको कुल्लुन डिजिटल छनोट भएको छ ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

NEA awards DRC and DCI contracts to Chinese companies

What you should know

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विपद् पुनःस्थापना केन्द्र (डीआरसी)को डिजाइन, सप्लाई, इन्सटलेसन एन्ड कमिसनिङ र प्राइभेट क्लाउड इन्फ्रास्ट्रक्चर एन्ड डेटा सेन्टर इन्टरकनेक्ट (डीसीआई) मा वित्तीय मूल्यांकनबाट चीनको कुल्लुन डिजिटल टेक्नोलोजी कम्पनी छनोट भएको छ । 

प्राधिकरणले बोलपत्र आह्वान गरेको एक वर्षमा 'ठेक्का प्रदान गर्ने आशयको सूचना' सार्वजनिक गरेको हो ।प्राधिकरणले पहिलोपटक ९ मे २०२५ मा बोलपत्र आह्वान गर्‍यो । उक्त बोलपत्रको अन्तिम म्याद  २३ जुन २०२५ तोकिएको थियो । त्यसयता समय थप गर्दै प्राधिकरणले ८ जुलाई २०२५, १८ जुलाई २०२५ र अन्तिममा २५ जुलाई २०२५ लाई अन्तिम म्याद तोकेको थियो । 

त्यसयता मूल्यांकन प्रक्रियामै थियो । प्राधिकरणमा ८ मे २०२६ मा ४ वटा कम्पनीले आवेदन दिएको छ ।निवेदन दिनेहरूमा चीनको कुल्लुन डिजिटल टेक्नोलोजी, चीनको जेडटीई कर्पोरेसन, भारतको भीभीडीएन टेक्नोलोजी र चीनकै जेभी विसडम डीएफई थिए । त्यसमध्ये प्राविधिक मुल्यांकनबाट वित्तीय मुल्यांकनका लागि चीनको कुल्लुन डिजिटल टेक्नोलोजी र जेभी विसडम डीएफई छनोट भएका थिए । 

एसियाली विकास बैंक (एडीबी)को ऋणबाट सञ्चालान हुने भएकाले प्राविधिक र वित्तीय मुल्यांकनपछि रिपोर्ट पठाइएको प्राधिकरणले बताउँदै आएको थियो । एडीबीको ऋणअन्तर्गतको भएकाले सहमतिका लागि आइसकेपछि थप प्रक्रिया अघि बढाएको प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक दुर्गानन्द बडियैत बताउँछन् । 'हामीले ४ वटा कम्पनी, प्राविधिक मुल्यांकनबाट बाहिरिएका दुई कम्पनी र छनोट भएका कम्पनीको नामसहित ठेक्का स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक गर्यो,' उनले भने । 

सात दिन समय दिइएकाले अर्को कुनै पार्टीले केही उजुर-बाजुर गर्‍यो/गरेन हेरेर चीनको कुल्लुन डिजिटल टेक्नोलोजीको नाममा आयशपत्र जारी गरी ठेक्का सम्झौताको प्रक्रिया अघि बढाउने उनले बताए । चीनको कुल्लुन डिजिटल टेक्नोलोजीले ७ करोड २० लाख ३३ हजार रुपैयाँमा  ठेक्का कबोल गरेको छ । 

प्राधिकरणले नवलपरासीको भुमहीस्थित नयाँ–बुटवल सबस्टेसनको परिसरमा विपद् पुनःस्थापना केन्द्र (डीआरसी) निर्माण गर्ने उद्देश्य राखेको छ । साथै, प्राधिकरणले आफ्नो विद्यमान डेटा सेन्टर (डीसी) मा क्लाउड पूर्वाधार स्थापना गर्ने तथा डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ नेटवर्क प्रयोग गरी डेटा सेन्टर र विपद् पुन:स्थापना केन्द्रबीच दोहोरो मार्ग जडान स्थापना गर्ने योजना बनाएको छ । यससँगै डेटा सेन्टर र विपद् पुनःस्थापना केन्द्र दुवैका लागि क्लाउड पूर्वाधार एकीकृत गरिनेछ ।

कान्तिपुर

Link copied successfully