बोलपत्र आह्वान गरेको एक वर्ष पुग्दा पनि मूल्यांकन नै सकिएन

डीआरसीको डिजाइन र डेटा सेन्टर इन्टरकनेक्टको लागि बोलपत्र आह्वान भएको वर्ष दिन बितिसक्दा समेत मूल्यांकनको नतिजा सार्वजनिक गरिएको छैन ।

वैशाख २२, २०८३

सीमा तामाङ

Even after a year since the bid was called, the evaluation has not been completed.

What you should know

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले विपद् पुनःस्थापना केन्द्र (डीआरसी)को डिजाइन, सप्लाई, इन्सटलेसन एन्ड कमिसनिङ र प्राइभेट क्लाउड इन्फ्रास्ट्रक्चर एन्ड डेटा सेन्टर इन्टरकनेक्ट (डीसीआई) को लागि बोलपत्र आह्वान गरेको आगामी मे महिनामा एक वर्ष पुग्दैछ । तर, हालसम्म प्राधिकरणद्वारा उक्त बोलपत्रको मूल्यांकन नै सकिएको छैन ।

प्राधिकरणले पहिलोपटक ०९ मे २०२५ मा बोलपत्र आह्वान गर्‍यो । उक्त बोलपत्रको अन्तिम म्याद  २३ जुन २०२५ तोकिएको थियो । त्यसयता समय थप गर्दै प्राधिकरणले ८ जुलाई २०२५, १८ जुलाई २०२५ र अन्तिममा २५ जुलाई २०२५ लाई अन्तिम म्याद तोकिएको थियो । 

बोलपत्रको अन्तिम म्याद सकिएको पनि ९ महिना भइसकेको छ । तर, प्राधिकरणको मूल्यांकन सकिएको छैन । प्राविधिक मूल्यांकनमा समय लागेको प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक दुर्गा नन्द बडियैत बताउँछन् । 

प्राविधिक मूल्यांकन सकिएर वित्तीय मूल्यांकन गरेर अहिले एसियाली विकास बैंक (एडीबी) मा सहमतिका लागि पठाइएको उनले बताए । ‘एडीबीको ऋणअन्तर्गतको हो, त्यसैले सहमतिका लागि पठाएका छौं,’ उनले भने, ‘एडीबीको एक्सपर्टले हेरेर पठाएपछि थप काम अघि बढाउँछौं ।’ एडीबीले सहमति दिइसकेपछि छनोट भएका कम्पनीको हकमा आशय पत्र जारी गर्ने उनले बताए । 

‘स्वीकृत गर्ने आशयको सूचना दिन्छौँ । त्यो समयभित्र अर्को कुनै पार्टीले केही उजुर बाजुर गरेन भने अनि ठेक्का सम्झौता गर्न आउ भनेर हामीले चिठी लेख्छौँ,’ उनले भने । 

क्लेरिफिकेसनहरु धेरै भएकाले प्राविधिक मूल्यांकनमा समय लागेको उनको भनाइ छ । उक्त बोलपत्रमा ४ वटा कम्पनीले आवदेन दिएको छ । प्राविधिक मूल्यांकनबाट त्यसमध्ये २ वटा मात्रै योग्य रहेकाले त्यसको वित्तीय मूल्यांकन गरी एडीबीमा पठाइएको उनको भनाइ छ । 

प्राधिकरणले नवलपरासी जिल्लाको भुमहीस्थित नयाँ–बुटवल सबस्टेसनको परिसरमा विपद् पुनःस्थापना केन्द्र (डीआरसी) निर्माण गर्ने उद्देश्य राखेको छ । साथै, प्राधिकरणले आफ्नो विद्यमान डेटा सेन्टर (डीसी) मा क्लाउड पूर्वाधार स्थापना गर्ने तथा डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ नेटवर्क प्रयोग गरी डेटा सेन्टर र विपद् पुन:स्थापना केन्द्रबीच दोहोरो मार्ग जडान स्थापना गर्ने योजना बनाएको छ । यससँगै डेटा सेन्टर र विपद् पुनःस्थापना केन्द्र दुवैका लागि क्लाउड पूर्वाधार एकीकृत गरिनेछ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully