बाँझो जमिनमा पुनः खेतीका लागि ‘भूमि बैंक’ कार्यक्रम

दुई रोपनीभन्दा भन्दा बढी जमिन रहेकालाई ‘भूमि बैंक’मा सूचीकृत हुन नगरपालिकाले आग्रह गरेको छ ।

जेष्ठ ३, २०८३

हरिराम उप्रेती

'Land Bank' program for recultivation of barren land

What you should know

गोरखा — बाँझो जग्गामा खेती गर्न पालुङटार नगरपालिकाले ‘भूमि बैंक’ कार्यक्रम सुरु गरेको छ । ‘भूमि बैंक कार्यक्रम कार्यविधि’ बनाएर कृषियोग्य जमिनको संरक्षण, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि प्रवद्र्धन गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले बताए । 

कार्यविधिको दफा ५ उपदफा (१) को ‘घ’ तथा अनुसूची–१ बमोजिम भूमि बैंकमा जग्गा दर्ताका लागि नगरपालिकाले सार्वजनिक सूचना पनि जारी गरेको छ । नगर क्षेत्रका जग्गाधनीलाई आफ्नो प्रयोगविहीन खेतीयोग्य जमिन भूमि बैंकमा दर्ता गरी अभियानमा सहभागी हुन पनि आग्रह गरिएको उनले बताए ।

‘यहाँबाट विकसित सहर चितवन, काठमाडौं, पोखरा बसाइँ सरेर जाने, वैदेशिक रोजगारीका लागि विदेश जाने परिपाटी देखिन्छ,’ उनले भने, ‘यसो हुँदा गाउँमा मान्छे घट्दै जाने, जमिन बाँझो बस्ने, उत्पादनमा भन्दा पनि रेमिट्यान्समा भर गर्ने र जग्गा बाँझो छाड्ने प्रवृत्ति छ भने केही किसान जग्गा–जमिन नहुँदा त्यसै बस्नुपर्ने अवस्था छ, खेती गर्न इच्छुक किसानलाई जमिन उपलब्ध गराएर उत्पादनसँग जोड्ने पुलको काम नगरपालिकाले गर्नका लागि यो कार्यक्रम संचालन गरेका हौं ।’

नगर क्षेत्रभित्र रहेको खेतीयोग्य तर विभिन्न कारणले प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई पुनः उत्पादन प्रणालीमा जोड्दै कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण गर्ने उदेश्यले कार्यक्रम संचालन गर्न लागिएको पनि बीसीले बताए । 

भूमि बैंकमा सहभागी बन्न जग्गाधनी सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिको दफा ३ उपदफा (१) को ‘ख’ अनुसार भूमि बैंकमा दर्ता भएका जग्गालाई सडक पहुँच, सिंचाइ सुविधा, उर्वराशक्ति, जैविक सुरक्षा तथा क्षेत्रफलका आधारमा वैज्ञानिक रूपमा वर्गीकरण गरिनेछ ।

सूचीकृत जग्गाहरू कृषि कार्य गर्न इच्छुक कृषक, कृषक समूह, सहकारी तथा कृषि फर्मलाई नियमानुसार उपलब्ध गराउने व्यवस्था नगरपालिकाले मिलाउने पनि उनले बताए । भूमि बैंकमा सूचीकृत हुने कम्तीमा २ रोपनी वा सोभन्दा बढी खेतीयोग्य तर बाँझो रहेका जग्गाधनीले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्ने व्यवस्था गरिएको छ । जेठ १ गते सूचना जारी गरेर नगरपालिकाले १५ दिनभित्र सूचीकृतका लागि निवेदन दिन आग्रह गरेको हो ।

भूमि बैंकको जग्गा पाउने पहिलो प्राथमिकता नगर क्षेत्रकै किसानलाई हुने पनि उनले बताए । ‘यो कार्यक्रमले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पनि सघाउँछ, साथै रैथाने बाली मास, तिल, बदाम जस्ता खेतीको प्रवर्द्धन गर्ने र कफी लगायतका व्यावसायिक खेती प्रणालीमा पनि जोड गर्ने उद्देश्य राखेका छौं,’ उनले भने ।

अभियानमार्फत बाँझो जमिनको उपयोगमा वृद्धि, उत्पादनमुखी कृषि प्रणाली विकास, युवाहरूलाई कृषि उद्यमतर्फ आकर्षण बनाउने उद्देश्य राखिएको उनले बताए । भूमि बैंकबाट प्राप्त जग्गामा उत्कृष्ट उत्पादन गर्ने कृषकलाई प्रोत्साहन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने पनि कार्यविधिमा उल्लेख छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully