महालेखा परीक्षकको प्रतिवेदन अनुसार एक एकड जग्गा १९९४ मे ९ सम्म दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण प्राप्त भएको छ ।
काठमाडौं — श्रीलंकास्थित नेपाली राजदूतावास स्थापनाका लागि खरिद गरिएको जग्गा दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार एक एकड जग्गा १९९४ मे ९ सम्म दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण प्राप्त भएको छ ।
‘यो वर्ष श्रीलंकाको घरजग्गा व्यवस्थापन गर्ने सरकारी निकायमा खोजी गर्दा नेपाल सरकारको नाममा रहेको उक्त जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण प्राप्त भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई संरक्षण तथा उपयोग गर्नु पर्दछ ।’
जग्गाको अभिलेख प्रत्येक कार्यालयले सरकारी घर, जग्गाको लगत राख्नुपर्ने पनि महालेखाले भनेको छ । श्रीलंकाको कोलम्बोस्थित राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा अमेरिकी डलर ३ लाख ६० हजारमा १.५ एकड जग्गा खरिद भएको थियो । हाल उक्त जग्गा उपयोगविहीन अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘यो वर्ष जग्गामा कम्पाउण्ड वाल निर्माण गर्न ३० लाख बजेट विनियोजन भएकोमा उक्त जग्गाको स्वामित्व सम्बन्धमा स्पष्ट हुन नसकेको जनाई नियोगले उक्त रकम खर्च गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘श्रीलंकाको सरकारी मूल्यांकनअनुसार हालको अवस्थामा उक्त जग्गाको मूल्य करिब अमेरिकी डलर ६५ लाख रहेकोमा उक्त जग्गाको आधिकारिक जग्गाधनी पुर्जा हालसम्म प्राप्त भएको छैन ।’
