इप्पानको नेतृत्वका लागि भ्लोनको टिम घोषणा, ६ जना महिला उम्मेदवार

वरिष्ठ उपाध्यक्षमा भ्लोन र उनको टिमबाट महासचिवमा टीएन आचार्यले उम्मेदवारी दिँदैछन् । अर्कोतर्फ वरिष्ठ उपाध्यक्षमा प्रकाशचन्द्र दुलाल र महासचिवमा मिथुन पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Vlon announces team for IPPAN leadership, 6 female candidates

What you should know

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी नेतृत्वका लागि उत्तम भ्लोन लामाले आफ्नो टिम घोषणा गरेका छन् । यही जेठ २९ गते हुने आठौँ अधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वत: अध्यक्ष हुनेछन् भने ३ वर्ष पछि सन् २०२९ मा अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनेछन् ।

सन् २०३२ मा हुने निर्वाचनमा भने अध्यक्षमै चुनावी प्रतिस्पर्धा गर्ने गरी विधान संशोधन गर्ने तयारी गरिएको छ ।वर्तमान उपाध्यध रहेका  भ्लोनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै इप्पानको वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व र भावी नेतृत्वलाई समेटेर 'इप्पान भिजन २०२९' प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् ।

भ्लोनको टिममा उपाध्यक्षमा सुसन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, विक्रम बिष्ट छन् । महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोख्रेल र कोषाध्याक्षमा नरेन्द्रवल्लभ पन्त छन् । 

सचिवमा सुमन जोशी,  अभिज्ञा मल्ल,  शंकर बस्याल, विजयमोहन भट्टराई,  कुवेरमणि नेपाल छन् ।कार्यसमिति सदस्यमा ईशा श्रेष्ठ, प्रतिमा ज्ञवाली अनुप आचार्य, जगतबहादुर पोखरेल,  कदम केसी,  वर्णन लामिछाने छन् ।

घोषणापत्र सार्वजनिक गर्दै भ्लोनले निजी क्षेत्रको योगदानकै कारण नेपाल लोडसेडिङमुक्त भएको, विद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा माथि पुगेको तथा आगामी दशकभित्र नेपाललाई दक्षिण एसियाकै प्रमुख ऊर्जा केन्द्र बनाउने सम्भावना रहेको उल्लेख बताए ।

प्रतिबद्धतापत्रमा सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको भूमिका अझ महत्त्वपूर्ण भएको उल्लेख गर्दै पीपीए अवरोध, प्रसारण लाइन अभाव, नीतिगत अस्पष्टता, विद्युत् व्यापार, वित्तीय चुनौती तथा प्रशासनिक जटिलता समाधान नगरी ऊर्जा क्षेत्रको तीव्र विकास सम्भव नभएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

घोषणापत्रमा सबैभन्दा बढी जोड पीपीए (विद्युत खरिद सम्झौता) सुधारमा दिइएको छ। 

आगामी निर्वाचनका लागि यसअघि नै वरिष्ठ उपाध्यक्षमा प्रकाशचन्द्र दुलाल र महासचिवमा मिथुन पौडेल आ-आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully