विद्युत् नियमन आयोग नेतृत्वविहीन, पदाधिकारी छनोटका लागि समिति गठन

ऊर्जा मन्त्रालयले रिक्त अध्यक्षसहित चार पदका लागि तीन सदस्यीय समिति गठन गरी १५ दिनभित्र आवेदन आह्वान गर्ने निर्णय गरेको छ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Electricity Regulatory Commission leaderless, committee formed to select office bearers

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन् ।

समितिले विद्युत् नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने जनाएको छ । यसका लागि १५ दिनको समयसीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ । 

सदस्य सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ । यसअघि  आयोगका अध्यक्षमा रामप्रसाद धितालसहित सदस्यहरूमा मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली थिए । 

कान्तिपुर

Link copied successfully