एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका महानिर्देशकद्वयलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराए ।
काठमाडौँ — पश्चिम एसियाली युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटकपटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले तय गरेको पूर्वनिर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रमअनुसार बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिका तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाइ ती विभागहरूमा आधा घण्टा धर्ना दिइएको हो ।
एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका महानिर्देशकद्वयलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराए ।
यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइ कार्यालय परिसरमा घण्टा धर्ना दिएका छन् ।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण बन्द हुने परिस्थितिका विषयमा अवगत गराउँदै ज्ञापनपत्र दिँदै देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए । महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन निर्माण र सिंचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिनेछन् ।
विरोधकै कार्यक्रमअन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।
