सिमको म्याद सकिने समस्यामा सरकारको चासो, सहजीकरण गर्ने मन्त्रीको प्रतिबद्धता

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मोबाइल सिम कार्डको ‘भ्यालिडिटी’ (म्याद) का कारण कयौं उपभोक्ताले भोग्नुपरेको समस्या समाधान गर्न सरकारले सहजीकरण गर्ने बताएका छन् । 

वैशाख ३०, २०८३

सजना बराल

Government's concern over SIM expiry issue, minister's commitment to facilitate

काठमाडौँ — बुधबार सञ्चारकर्मीसँगको भेटमा मन्त्री पाण्डेले सिम कार्डको म्याद सकिने विषयमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने स्पष्ट पारेका हुन् । सिम कार्डको म्याद सकिँदा त्यसले कसरी न्यून आय भएका उपभोक्ता र ग्रामीण क्षेत्रका नागरिकलाई मर्कामा पारिरहेको छ भन्ने सन्दर्भमा कान्तिपुरले हालै समाचार प्रकाशित गरेको थियो । 

मन्त्री पाण्डले सिमको भ्यालिडिटीको मुद्दा सेवा प्रदायक र नियामक निकायसँग प्रत्यक्ष जोडिएको भए पनि सरकारले जनताको हकका विषयमा सरकारले सल्हाकारी भूमिका निर्वाह गर्ने बताए । ‘सिम भ्यालिडिटीको कुरा सेवा प्रदायक र नियामकसँग जोडिएको विषय भए पनि जनताको हकका विषयमा सरकारले कहाँ र कसरी के संयोजनकारी भूमिका अथवा एडभाइजरी रोल खेल्नुपर्छ त्यसको लागि हामी तयार छौँ र त्यो पनि गर्दै छौँ,’ उनले भने । 

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा हाल करिब २७ लाख ४४ हजार ८ सय २२ टुजी प्रयोगकर्ता छन् । मोबाइल फोन आयातमा ‘बार फोन’को हिस्सा अहिले पनि करिब २३ प्रतिशत छ । कुल जनसंख्याको करिब ९.४ प्रतिशतले भ्वाइस कल र एसएमएसका लागि मात्रै मोबाइल बोक्ने गरेको तथ्यांकले देखाउँछ ।

आर्थिक कारणले स्मार्टफोनमा पहुँच नभएका वा प्रविधिको सरलता चाहने यस्ता आधारभूत प्रयोगकर्तालाई लक्ष्य गरेर टेलिकम कम्पनीहरूले कुनै विशेष सहुलियत वा प्याकेज ल्याएका छैनन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully