नीतिगत अस्थिरताका कारण नेपालमा औद्योगिक क्षेत्र फस्टाउन नसकेको उनले बताए ।
काठमाडौँ — दिवाकर गोल्छा अर्गनाइजेसनका अध्यक्ष निर्देशक हितेश गोल्छाले नाकाबन्दी, कोरोनाजस्ता अप्ठ्यारो समयमा स्वदेशी उद्योगहरुले नै मुलुकलाई स्थिर राखेको बताए । बुधबार कान्तिपुर इकोनोमिक समिट २०२६ को पहिलो सत्र 'निजी क्षेत्रलाई गति दिन स्थायी नीतिमा' उनले अन्य क्षेत्रजस्तै स्वदेशी उद्योगहरु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।
नीतिगत अस्थिरताका कारण नै नेपालमा औद्योगिक क्षेत्र नफस्टाएको समेत उनले बताए ।
‘व्यापारमा नीतिगत स्थिरता चाहिन्छ भने उद्योगमा २ अर्ब ३ अर्ब लगानी भएका ठूला उद्योग सञ्चालनमा आई, स्थिर भई बजारमा आई ब्रान्ड बन्नै ४/५ वर्ष लाग्छ,’ उनले भने, ‘तर, नेपालमा ५ वर्षमा ५ चोटि नै नीति परिवर्तन हुन्छ भने यो असम्भव छ । हामीले कहाँ पैसा सुरक्षित लगानी गर्ने जसले व्यवसाय सञ्चालन होस् ।’
एउटै सरकार रहँदा पनि २/३ पटक नीति परिवर्तन हुने गरेको समेत उनले स्मरण गरे ।
‘एउटा मान्छले केही बिगार्यो भने नीति नभई कानुन नै परिवर्तन हुन्छ, यस्तो अवस्थामा सुशासन नै मूख्य विषय हो,’ उनले भने, ‘मान्छे पछि कानुन परिवर्तन गर्ने प्रणालीलाई नै परिवर्तन गर्नुपर्छ ।’
नेपालको अर्थतन्त्र सर्कुलर रहेको भन्दै औद्योगिकीकरण पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए ।
