कुनैपनि राष्ट्र विकास हुन सरकार र निजी क्षेत्रबीच पार्टनरसिपमा काम नभएसम्म अर्थतन्त्रको विकास गर्न नसकिने उनले बताए ।
काठमाडौँ — सूर्य नेपाल प्रालिका कार्पेरेट अफेयर्स उपाध्यक्ष रवि केसीले सरकारबाट व्यवसायीलाई थुन्ने काम गलत भएको बताएका छन् ।
'कुनै पनि व्यवसायीले घाटाका लागि काम गर्दैन । उसले नाफामूलक नै काम गर्छ, व्यवसाय यताउती जान नसक्नेगरी नीति भयो भने व्यवसायी थुनिनु पर्दैन, ' कान्तिपुर इकोनमिक समिट २०२६ मा 'निजी क्षेत्रलाई गति दिन स्थायी नीति' शीर्षकको पहिलो सत्रमा बोल्दै उनले भने, 'कर म्यानेजमेन्ट गर्दाको कुरालाई यो क्राइम हो भन्ने वा क्राइम नै हो भने पनि उसलाई थुन्न पर्छ जस्तो लाग्दैन ।' पैसा बाहिर लगेर लगानी गर्ने र यहाँ व्यापार मात्र गरेको तथा नेपालमा केही आधार छैन भने ऊ भाग्न सक्छ कि भनेर उसको अनुसन्धान गर्न सकिने उनले बताए ।
विकसित राष्ट्रतर्फको यात्रामा जाँदै गर्दा यस्तो कार्यले व्यवसायीलाई हतोत्साहित बनाउने समेत उनले बताए । 'तीन पुस्ता यही बसेर उद्योग धन्दा गरेको, १२ सयलाई रोजगारी दिने मान्छेलाई एक डेढ महिना थुन्दा केही पनि फरक पर्दैन, तर उसको सामाजिक प्रतिष्ठा, उसलाई समाजले हेर्ने दृष्टिकोण, बालबच्चाको दृष्टिकोण र उद्यमीको काम गर्ने जोश जाँगरमा त्रासको वातावरण बन्छ,' उनले भने, 'हामी अविकसित राष्ट्रबाट विकसित राष्ट्रतर्फ जाँदै गर्दा यस्तो कार्यले व्यवसायीलाई हतोत्साहित बनाउने काम गर्छ ।'
'कुनैपनि राष्ट्र विकास हुन सरकार र निजी क्षेत्रबीच पार्टनरसिपमा काम नभएसम्म अर्थतन्त्रको विकास गर्न सकिँदैन,' उनले भने, 'सरकार भनेको मध्यस्थताकर्ता मात्र हो । जतिपनि विकासको काम गर्नुपर्ने हो, त्यो निजी क्षेत्रले गर्ने हो । त्यसैले निजी क्षेत्रका व्यवसायीलाई थुन्ने कामले राज्यलाई राम्रो भन्दा नराम्रो हुन्छ जस्तो लाग्छ ।' अहिले काम गर्ने उच्च जोशका साथ बनेको सरकारको जोश जाँगरमा ह्रास आउने जोखिम हुने उनले बताए । उनले भने, 'उद्योग धन्दा राज्यले गरेर साध्य छैन । यो जनता वा व्यवसायीले नै गर्ने काम हो । यसमा अभिभावकका रुपमा सरकारले नेतृत्व लिनु पर्छ ।'
