आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गरिनेसमेत उनले बताए ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको कार्यसूची र वाचापत्रअनुसार नीति तथा कार्यक्रम आएको र त्यसअनुरूप नै बजेट आउने बताएका छन् । कान्तिपुर इकोनमिक समिटमा भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्रीले अब सुशासनको लाभांश लिने बेला आएको समेत बताए ।
उनले भने, 'कुशासनको मूल्य हामीले चुकायौँ, अब सुशासनको लाभांश लिने बेला आएको छ ।' उनले आगामी बजेट ईगभर्नेन्स, डिजिटल डेलिभरी र डिजिटल अर्थतन्त्रका अवधारणामा रहेर आउनेसमेत बताए । डिजिटलमार्फत सेवा डेलिभरीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए । डेटा सेन्टरका लागि नेपालको वातावरणीय अवस्था निकै उपयुक्त रहेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले समेत देखाएको उनले जनाए ।
सूचना तथा प्रविधि क्षेत्रको सबै काम प्रधानमन्त्री कार्यालयबाटै हुने उनले बताए । आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गरिनेसमेत उनले बताए । मध्यम वर्गलाई पर्ने करका बोझहरू घटाउने पनि उनले बताए ।
