भेरी करिडोर कार्यालय जाजरकोटले तल्लुबगर–त्रिवेणी र त्रिवेणी–त्रिपुराकोट गरी दुई खण्डमा ठेक्का सम्झौता गरेको झन्डै एक वर्ष पुग्न लाग्दा निर्माणस्थलमा काम भएको छैन ।
What you should know
डोल्पा — जाजरकोटको तल्नुबगरदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्र गर्न भन्दै गत वर्ष लगाइएका दुई वटा ठेक्का सम्झौतादेखि नै अलपत्र परेका छन्।
भेरी करिडोर कार्यालय जाजरकोटले तल्लुबगर–त्रिवेणी र त्रिवेणी–त्रिपुराकोट गरी दुई खण्डमा ठेक्का सम्झौता गरेको झन्डै एक वर्ष पुग्न लाग्दा निर्माणस्थलमा काम भएको छैन । पहिलो खण्ड अन्तर्गत तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्ट्रक्सन प्रालिले २०८२ असोजमा ८८ करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो।
सुरुमा निर्माण कम्पनीले तल्लुबगर–त्रिवेणी खण्डको बीचबीचमा केही समय काम गरे पनि अहिले निर्माण रोकिएको छ । कम्पनीका इन्जिनियर सुपेन्द्र शाक्यले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र क्रसर मेसिन ढुवानीमा समस्या देखाउँदै काम रोकेको बताए। 'अब मेसिन ल्याउँदै छौं, वर्षा सुरु हुनुअघि नै काम थाल्छौं,' उनले भने ।
पहिलो खण्डको काम केही समय सुरु भए पनि दाेस्राे चरणको काम भने अझै सुरु गरिएको छैन् ।
त्रिवेणी–त्रिपुराकोट खण्डको ८५ कराेड लागतमा ठेक्का पाएको मैनाचुली–सिस्ने जेभीले २०८२ साउनमा सम्झौता गरे पनि नौ महिना बित्दासम्म साइटमा एक जना कामदार पनि खटाएकाे छैन । कम्पनीका इन्जिनियर देवेन्द्र घिमिरे चाँडै खदाङमा साइट कार्यालय खोलेर काम सुरु गर्ने बताए ।
भूगोलका हिसाबले नेपालकै ठूलाेे जिल्ला र उत्तर-दक्षिण जाेेड्ने लाेकमार्गकाे रुपमा रहेको रणनीतिक महत्त्वकाे सडकको काम अलपत्र परे पनि सुचारु गराउन कसैको ध्यान गएको छैन् । याे करिडोरले चीन-नेेपाल र भारत जाेड्ने गर्दछ ।
कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर शाहीले डाेल्पालीकाे सडक सपनासँग जाेडिएकाे दुई ठूला सडक आयोजना सम्झौता भएकाे एक वर्ष बित्नलाग्दासम्म अलपत्र पर्नु दु:खद् भएको बताए । विभिन्न बहाना बनाएर ठेक्का अलपत्र पारिएकाले अब तत्काल काम सुरु नगरिए कर्णाली प्रदेशसभामार्फत प्रदेश र संघीय सरकारकाे ध्यानाकर्षण गराउने बताए ।
विस २०७५ सालमै सडककाे ट्रयाक खुलाइएको भेरी करिडोर स्तरोन्नति ठेकेदारकै कारणले अनिश्चित बनेपछि छिटो काम सुचारु गराउन स्थानीयले माग गरेका छन् । भेरी करिडोर कार्यालयले बारम्बार ताकेता गर्दा पनि ठेकेदारले अटेरी गरेको जनाएको छ । सूचना अधिकारी गिरिश नन्दनले भने, 'बारम्बार ताकेता गर्यौं, काम भएन, अब कानुनी प्रक्रिया अघि बढाउँछौं।'
