कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार सालको ३८ मिटर अग्लो र तीन मिटर मोटाइको रूख ढलेर टावरमा लाग्दा क्षति पुगेको हो ।
वीरेन्द्रनगर — कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको टावर (पोल) सञ्चालनमा आएको तीन महिनामै ढलेका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा रहेको सब–स्टेसनमा चार्ज गरी सञ्चालनमा ल्याइएको प्रसारण लाइन केही दिनअघिको हावाहुरीका कारण ढलेको नेपाल विद्युत् प्राधिकरण सुर्खेतले जनाएको छ । प्राधिकरणका अनुसार हावाहुरीले क्षति पुगेका बाँके चिसापानीस्थित २ वटा टावर शनिबार ढलेका हुन् । टावर ढलेपछि विद्युत् प्रसारण बन्द भएको छ । पोल बन्न एक महिना लाग्ने विद्युत् प्राधिकरण सुर्खेतका प्रमुख ईन्जिनियर किरण खनालले बताए । 
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार सालको ३८ मिटर लामो र तीन मिटर मोटाइको रूख ढलेको छ । उनले भने, 'टावरभन्दा ठूलो रूख ढलेर पोलमा लागेका हुन् । पोलको पनि निश्चित क्षमता हुन्छ ।' निकुञ्जमा यस्ता धेरै रूख भएकोले फेरि पनि यस्तो समस्या आउन सक्ने उनी बताउँछन् ।
निकुञ्जमा टावरको १८ मिटरभित्रका रूखहरू मात्र काट्ने अनुमति छ । यो रुख ३० मिटर परबाट आएको प्रमुख चौधरीले बताए ।
अहिले यस क्षेत्रमा पुरानै लाइन कोहलपुर-सुर्खेत/लम्की ३३ केभीमार्फत सप्लाई गरिँदा सुर्खेतमा बिजुली अनियमित भएको छ । ३३ केभी सिस्टममा अत्यन्त न्यून भोल्टेज रहेकोले ट्रान्सफर्मर, वितरण लाइनको तारलगायतमा विद्युत् भार भई प्राविधिक समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १३२ केभी लाइन पुन: सञ्चालन नहुँदासम्म लो-भोल्टेजलगायत समस्याले बिजुली अनियमित हुनसक्छ ।
यसैबीच कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चासो राख्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत सुचारु गर्न पहल गरिरहेको छ । हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो । हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ ।
१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्तिलाई सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो ।
