नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न 'देवभूमि नेपाल' राष्ट्रिय अभियान सञ्चालन गरिने सरकारले जनाएको छ ।
काठमाडौँ — सरकारले 'भिजिट नेपाल २०८५' को पूर्वतयारीलाई केन्द्रमा राख्दै पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई तीव्र बनाउने भएको छ। पर्यटक आगमन बढाउने, प्रति पर्यटक खर्च वृद्धि गर्ने तथा बसाइ अवधि लम्ब्याउने लक्ष्यसहित विशेष प्रचार अभियान सञ्चालन गरिने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम २०८३/८४ मा उल्लेख छ ।
नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न 'देवभूमि नेपाल' राष्ट्रिय अभियान सञ्चालन गरिने सरकारले जनाएको छ । साथै धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने योजना अघि सारिएको छ।
सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ मन्दिर, लुम्बिनी, जनकपुरधाम तथा मुक्तिनाथ मन्दिर लगायतका धार्मिक क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकता दिने जनाएको छ।
