सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक-निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील संस्थाका रूपमा विकास गर्न लागेको हो ।
काठमाडौं — सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपालको पर्यटन क्षेत्रलाई रूपान्तरण गर्ने व्यापक योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत नेपाल पर्यटन बोर्डलाई सार्वजनिक-निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील संस्थाका रूपमा विकास गरिने भएको छ ।
नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न पर्वतारोहण, पदयात्रा, राफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प र स्काई डाइभिङजस्ता गतिविधिहरूको पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई सुदृढ गरिने जनाएको छ । प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गर्ने लक्ष्यसमेत लिइएको छ ।
सरकारले नीति तथा कार्यक्रममार्फत कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशलाई विशेष प्राथमिकतामा राखी नयाँ पर्यटन गन्तव्य विकास गर्ने जनाएको छ । साथै, हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० नयाँ पदमार्ग पहिचान र प्रवर्द्धन गरिने योजना रहेको छ ।
