पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिले दुईपांग्रे सवारी र सार्वजनिक यातायातमा भरपर्ने मध्यमवर्गको दैनिकी थप महँगिएको छ, तर ईभीतर्फको फड्को अझै सहज छैन ।
What you should know
काठमाडौँ — पश्चिम एसियाली युद्धपछि बढेको मूल्यकै कारण दोलखाका अनिल न्यौपानेको इन्धनमा हुने खर्च ३५ प्रतिशत हाराहारी वृद्धि भएको छ । आफू बस्ने ठाउँ काठमाडौंको शंखमूलदेखि भक्तपुरको राधेराधेस्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा–आउँदा साताको पाँच लिटर पेट्रोल लाग्ने उनी बताउँछन् । ‘पहिला साताको ७–८ सय रुपैयाँ भए पुग्थ्यो, अहिले हजार–एघार सय रुपैयाँसम्म लाग्छ,’ उनी भन्छन्, ‘अलि–अलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ ।’ अहिले मासिक ४ हजार ५ सय रुपैयाँसम्म पेट्रोलमै खर्चिनुपरेको उनी सुनाउँछन् ।
इन्धनको मूल्यवृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ । इरानसँग अमेरिका र इजरायलले युद्ध सुरु गरेयता नेपालमा प्रयोग हुने सबैखाले इन्धनको अत्यधिक मूल्य बढेको छ । प्रतिलिटर १५७ रुपैयाँमा पाइने पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ, डिजेलको मूल्य १४२ बाट बढेर २२५ रुपैयाँ भएको छ । पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढेको छ ।
भन्सार विभागका अनुसार गत वर्ष आयातित चारपांग्रे सवारीमध्ये विद्युतीय गाडीको हिस्सा ७१ प्रतिशत र डिजेल–पेट्रोल सवारीको हिस्सा २९ प्रतिशत भए पनि दुईपांग्रेतर्फ इलेक्ट्रिक बाइकको हिस्सा ६ प्रतिशत हाराहारी मात्र छ । यसबाट दुईपांग्रे सवारीमा भरपर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यमवर्गमा सबैभन्दा बढी मार परेको देखिन्छ । इन्धन मूल्यमा हुने घटबढअनुसारै सार्वजनिक सवारीको भाडा दर पनि घटबढ हुने गर्छ । पछिल्लो पटक सरकारले यात्रुवाहक सवारीसाधनमा औसत १६.७१ प्रतिशत भाडा बढाएको छ ।
सरकारले दोस्रो पटक पेट्रोलको मूल्य लिटरको १८७ रुपैयाँ पुर्याएपछि नै अखिल क्रान्तिकारीकी केन्द्रीय सचिव प्रतिभा पौडेलले स्कुटर घरमै थन्काइन् र सार्वजनिक बस चढ्न थालिन् । ‘तर सार्वजनिक सवारीसाधनको भाडा दर पनि बढ्यो, त्यसमाथि इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै सार्वजनिक बसमा विद्यार्थीलाई दिइने छुटसमेत सहजै पाइँदैन,’ उनले भनिन्, ‘विद्यार्थी र न्यून आय भएका दैनिक कामकाजीहरू बढी प्रभावित भएका छन् ।’
पेट्रोलको मूल्य लिटरको २१९ रुपैयाँ पुग्दा सामाजिक सञ्जालमा विभिन्न ट्रोलसमेत बनेका छन् । यतिसम्म कि, ‘पेट्रोलभन्दा पुन्टे बियर सस्तो भयो : अब आफैं विचार गर, घुम्ने कि झुम्ने ?’ भन्दै लेखिएको समेत देखिएका छन् ।
पेट्रोलको मूल्य बढिरहेका बेला राइड सेयरिङ व्यवसाय पनि प्रभावित भएको छ । चालकहरू राइड सेयरिङ कम्पनीविरुद्ध प्रदर्शनमा समेत उत्रिए । ‘पेट्रोल महँगो, भाडा सस्तो’, ‘राइडर शोषण बन्द गर’ लगायत नारासहित उनीहरूले प्रदर्शनसमेत गरे । बिहान ९ बजेबाट कार्यालय सुरु भएपछि समयमा पुग्नकै लागि दैनिक राइड सेयरिङ प्लाटफर्म प्रयोग गरिरहेकी तारकेश्वरकी राधा खतिवडा पनि पेट्रोलको मूल्य बढ्दा प्रभावित भएकी छन् । राइड सेयरिङमा आउन–जान मासिक पहिला ११ हजार रुपैयाँ भए पुग्ने, अहिले साढे १५ हजार रुपैयाँसम्म लाग्ने उनले बताइन् । ‘बिहान ९ बजे नै अफिस पुग्नुपर्छ, सार्वजनिक बसमा जाँदा समयमै पुग्न मुस्किल पर्छ,’ उनले भनिन्, ‘समयमै आउन–जानलाई राइड सेयरिङ प्रयोग गर्छु ।’
मुलुकमा इन्धन अभाव हुन नदिन र खपत घटाउन सरकारले शनिबारका साथै आइतबार पनि बिदा दिएको छ । नेपाल आयल निगमका अनुसार नेपालमा सार्वजनिक यातायात, विद्यालयका बस, सामान ओसारपसार गर्नेलगायत ठूला सवारीमा मात्र डिजेलको प्रयोग हुन्छ । दुईपांग्रेदेखि साना गाडीहरू पेट्रोलबाट सञ्चालन हुँदै आएका छन् । मुलुकमा पेट्रोलियम सवारीको विकल्प नभएको होइन । बजारमा विद्युतीय स्कुटरदेखि बाइकसम्म पाइन्छन् । त्यसका लागि मुलुकमै उत्पादित स्वच्छ ऊर्जा पनि पर्याप्त मात्रामा छ ।
तर पनि उपभोक्ताहरू एक पटक चार्ज गर्दा चलाउन पाउने समय ‘रेन्ज एन्जाइटी’ ले दुईपांग्रे विद्युतीय सवारीतर्फ आकर्षित हुन नसकेको विक्रेताहरू बताउँछन् । हरेक व्यक्तिले सवारी खरिद गर्नुअघि विद्युतीयतर्फ ध्यान दिए पनि ‘रेन्ज एन्जाइटी’ का कारण उनीहरूले विद्युतीय सवारी किन्न हिचकिचाउने गरेको याडिया ब्रान्डका आधिकारिक विक्रेता कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ बताउँछन् । ‘दुईपांग्रे सवारीमा रेन्ज एन्जाइटी छ । बुझ्न आउने प्रायः ग्राहकहरू रेन्ज दिएन भने, म बाटोमा अड्किएँ भने, डबल लोड तानेन भने, बाटोमा बिग्रिहाल्यो भने के गर्ने ? भन्नेजस्ता सवाल लिएर चिन्ता व्यक्त गर्छन्,’ उनी भन्छन्, ‘फेरि वर्कसप कहाँ छ ? कुनचाहिँ प्रोडक्ट राम्रो हो ? अफरोड जान्छ कि जाँदैन ? भन्नेमा पनि उनीहरू सशंकित देखिन्छन् ।’
पछिल्लो समय कुनै–कुनै ब्रान्डका विद्युतीय बाइकको पनि बिक्री बढ्न थालेको विक्रेता बताउँछन् । मुलुकमा याडिया, निउ, सुपर सोको, एथर, बजाजको चेतक, गोगोरो, सेगवे, टीभीएसको आईक्युबलगायत विविध ब्रान्डका विद्युतीय स्कुटर र बाइक उपलब्ध छन् । नेपालमा ७० देखि ८० ब्रान्डका सवारी रहे पनि कतिपय ब्रान्डहरू बाहिरिसकेको समेत विक्रेता बताउँछन् ।
मुलुकमा ऊर्जा संकटका बेला विद्युतीय सवारीको माग बढ्ने गरेको सेगवेका ब्रान्ड म्यानेजर धीरेन्द्र कुशवाह बताउँछन् । ‘प्राथमिकताभन्दा पनि विकल्पका रूपमा विद्युतीय सवारी रोज्नेहरू बढेका छन्,’ उनले भने, ‘घरमा एउटा चारपांग्रे पेट्रोलियम सवारी छ, अर्को के लिनेभन्दा चाहिँ एउटा विद्युतीय लिऔं भन्ने पनि हो ।’ यसअघि नाकाबन्दीको समयमा बजारमा विद्युतीय सवारीको माग बढेको पनि त्यसयता केही घटेको र अहिले फेरि बढेको उनले बताए । सन् २०२३ देखि एउटै मोडलको सवारी बेचिरहेकाले उनले अहिले २० देखि ३० प्रतिशत बजार वृद्धि भएको सुनाए ।
पेट्रोलको मूल्यवृद्धि भए पनि त्यसबाट चल्ने दुईपांग्रे सवारी बिक्रीमा भने कुनै असर नपरेको विक्रेता बताउँछन् । ‘बिक्री अनुमान गरेअनुसार नै भइरहेको छ,’ यामाहाको आधिकारिक विक्रेता एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल भन्छन्, ‘पेट्रोलमा मूल्यवृद्धि वा ऊर्जा संकटको प्रभाव खासै देखिएको छैन, यामाहाको बिक्री दर अरू बेलामा जस्तै उस्तै नै छ ।’
विश्वमा विद्युतीय सवारी अपनाउने दोस्रो सबैभन्दा छिटो दरका लागि नेपाल विश्वव्यापी रूपमा चर्चामा छ । सन् २०२५ मा नयाँ कार बिक्रीको ७० प्रतिशतभन्दा बढी विद्युतीय रहेको विश्वव्यापी ऊर्जा थिंक ट्यांक एम्बरको तथ्यांकले देखाएको छ । ९७ प्रतिशत ईभी हिस्सासहित नर्वे पहिलो स्थानमा छ । नेपालले डेनमार्क, स्वीडेन र आइसल्यान्ड जस्ता देशहरूलाई उछिनेको छ । बेलायत, जर्मनी र संयुक्त राज्य अमेरिका जस्ता प्रमुख बजारभन्दा ईभी सवारीको प्रतिशतमा नेपाल धेरै अगाडि छ । तर, दुईपांग्रे विद्युतीय सवारीको बिक्री भने नेपालमा अझै न्यून छ ।
