मूल्यसूची अनिवार्य राख्न व्यवसायीलाई  महासंघको आह्‍वान

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले घोषणा गरेको मूल्य पारदर्शिता सप्ताहलाई समर्थन गर्दै सबै उद्योगी व्यवसायीलाई अभियानमा सहभागी हुन आह्वान गरेको हो ।

वैशाख २७, २०८३

कान्तिपुर संवाददाता

Federation calls on businessmen to make price lists mandatory

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई अभियानमा सहभागी हुन आह्‍वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ वैशाखदेखि जेठ ३ सम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यबद्धता जनाएको हो । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने जनाएको छ ।

‘मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा बिक्रेताहरूले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रह गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आ–आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिए/नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रमका सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी-व्यवसायी मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुन समेत आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully