दैनिक सेयर कारोबार ५ अर्ब ननाघेको साता

२७.४९ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकमका आधारमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र रिडी पावर कम्पनी अघि

वैशाख २६, २०८३

सीमा तामाङ

Weekly daily share turnover below 5 billion

What you should know

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २७.४९ अंकले वृद्धि भएको छ । एक दशमलव शून्य प्रतिशतले वृद्धि भएपछि समग्र नेप्से परिसूचक २ हजार ७ सय ४५ दशमलव ६५ विन्दुमा उक्लिएको छ । बिहीबार नेप्से ६.९४ अंकले बढे पनि कारोबार २ अर्ब ९३ करोड रुपैयाँमै सीमित भएको थियो । जुन कारोबार ६ महिनायताकै न्यून थियो । यसअघि ९ कात्तिक २०८२ मा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ भएको थियो । 

कारोबारमा आएकामध्ये २ सय ३५ कम्पनीको मूल्य बढ्यो, २६ कम्पनीको मूल्य घट्यो, ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । कुल ५३ हजार १५ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर किनबेच भए । यो साता अधिकतम कारोबार रकम साढे ४ अर्ब रुपैयाँ छ । सोमबार ४ अर्ब २६ करोड रुपैयाँ, मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँ, बुधबार ३ अर्ब १९ करोड रुपैयाँ र बिहीबार २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँ कारोबार भएको हो ।

ठूला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा बजार घटेको र त्यसले साना लगानीकर्ता पनि लगानी नबढाई बसेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘धितोपत्र कारोबार सञ्चालनसम्बन्धी विनियमावलीअनुसार कम्तीमा २५ प्रतिशत रकम लिएर मात्रै सेयर खरिद गर्ने आदेश लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्न भनेकाले पनि कारोबार घटेको छ,’ उनले भने । 

बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, लघुवित्त, अन्यलगायत सबै उपसमूहको मूल्य बढ्यो भने व्यापार उपसमूहको मूल्य स्थिर रह्यो । त्रिशूली जलविद्युत् कम्पनीको १०, होटल फरेस्ट इनको ७.९०, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको ६.१२, एनआईसी एसिया ब्यालेन्स फन्डको ५.७४, पियोर इनर्जीको ५.३४ प्रतिशतले सेयर मूल्य बढ्यो । 

स्वावलम्बन लघुवित्तको ६.५४, ग्लोबल आईएमई समुन्नत योजना–२ को २.६२, फर्वार्ड लघुवित्तको २.४७, हिमालयन ८०–२० को २.३२, आरबीबी फोकस ४० को २.३० प्रतिशतले मूल्य घट्यो । सरकारले सेयरमा लगानी गरेको स्रोत खोज्न लागेपछि पनि त्यसले लगानीकर्तामा त्रास फैलाएको वित्तीय विश्लेषक मुक्ति अर्यालले बताए । आफ्नै आम्दानीबाट लगानी गर्नेहरूलाई अब सरकारले नै आश्वस्त पार्नुपर्ने उनको भनाइ छ । 

कारोबार रकमका आधारमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र रिडी पावर कम्पनी अघि रहे । होटल फरेस्ट इनको १३ करोड ८६ लाख, रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख, सोलु हाइड्रोपावरको १२ करोड ३ लाख, ङादी ग्रुप पावरको ११ करोड ६३ लाख र रिडी पावर कम्पनीको १० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्से बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ४६ अर्ब ८९ करोड ७८ लाख रुपैयाँले बढेको छ । बिहीबार ४६ खर्ब ३५ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully