उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री वाग्ले

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे ।

वैशाख २६, २०८३

कान्तिपुर संवाददाता

Government has not prepared a list of industrialists and businessmen to be detained: Finance Minister Wagle

काठमाडौँ — अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईंहरु हल्लाको पछि नपर्नुस् तपाईंहरु हाम्रो साझेदार हो ।’ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । 

उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए । ‘सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो, मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी हो । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो,’ उनले भने ।

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे । राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरु समान रहेको बताए । 

‘सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो । तर पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोहीबाटो लाग्ने बेला भएको छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully