काठमाडौं विमानस्थलमा बन्द गरिएको ट्याक्सीवे ‘इको’ पुनः सञ्चालनमा

उनका अनुसार ट्याक्सीवे ईकोलाई १ डिसेम्बर २०२५ देखि ट्याक्सीवे ‘डी’सम्मको क्षेत्रमा निर्माण कार्यका लागि बन्द गरिएको थियो ।

वैशाख २५, २०८३

कान्तिपुर संवाददाता

Closed taxiway 'Eco' at Kathmandu Airport reopens

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द गरिएको ट्याक्सीवे ‘इको’ को पुनर्निर्माण भएपछि बिहीबारदेखि पुन संतालनमा आएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ सँग समानान्तर ट्याक्सीवे जडान विस्तार परियोजना अन्तर्गत गरिएको उक्त संरचनागत सुधारपछि ट्याक्सीवे (ई) इकोलाई पुनः सञ्चालनमा ल्याइएको विमानस्थल क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार ट्याक्सीवे ईकोलाई १ डिसेम्बर २०२५ देखि ट्याक्सीवे ‘डी’सम्मको क्षेत्रमा निर्माण कार्यका लागि बन्द गरिएको थियो । पुनर्निर्माण सम्पन्न भएसँगै अब विमानहरूको ग्राउन्ड मुभमेन्ट अर्थात् अवतरणपछि पार्किङ क्षेत्रसम्मको आवागमन तथा उडानपूर्व धावनमार्ग पहुँच प्रक्रिया थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

परियोजनाको मुख्य उद्देश्य धावनमार्ग ०२ तर्फ समानान्तर ट्याक्सीवे विस्तार गरी विमानस्थलको सञ्चालन क्षमता अभिवृद्धि गर्नु रहेको छ । यस सुधारले विमानको आवागमनमा हुने ढिलाइ घटाउने, धावनमार्ग उपयोग दक्षता बढाउने तथा भीड व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय उड्डयन मापदण्डअनुसार समानान्तर ट्याक्सीवे प्रणालीलाई विमानस्थल सञ्चालनको महत्त्वपूर्ण पूर्वाधार मानिन्छ, जसले उडान सुरक्षासँगै समय व्यवस्थापनमा पनि प्रत्यक्ष प्रभाव पार्छ । परियोजना कार्यान्वयनका क्रममा मध्यपूर्व क्षेत्रमा उत्पन्न भू–राजनीतिक तनावका कारण बिटुमिन आपूर्ति प्रभावित भएको तथा निर्माण सामग्री व्यवस्थापनमा चुनौती देखिएको थियो । यद्यपि, ती कठिनाइका बाबजुद पनि परियोजनालाई निर्धारित लक्ष्यअनुसार अघि बढाइएको आयोजनाले जनाएको छ। 

यस्तो परिस्थितिमा पनि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनु परियोजना व्यवस्थापन, प्राविधिक समन्वय तथा स्थलस्तरीय कार्यान्वयन क्षमताको उल्लेखनीय उपलब्धि भनिएको छ ।

परियोजनाको निर्माण कार्य चिनियाँ निर्माण कम्पनी गान्सु मेकानाइज्ड इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेशनले गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन क्षमता अभिवृद्धि योजनाअन्तर्गत अघि बढाइएको यस परियोजनाले विमानस्थलको परिचालन दक्षता, सुरक्षा स्तर तथा पार्किङ र ट्याक्सीङ व्यवस्थापनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । काठमाडौं विमानस्थलमा दैनिक सय हाराहारी अन्तराष्ट्रिय र तीन सय हाराहारी आन्तरिक उडान हुन्छन् ।

कान्तिपुर

Link copied successfully