महँगिएसँगै इन्धनको खपत पनि घट्यो

औसतमा पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा पछिल्लो समय बिक्री घटेको कार्यालय प्रमुख अशोक साहले बताए।

वैशाख २४, २०८३

शंकर आचार्य

Fuel consumption has also decreased as prices have risen.

What you should know

पर्सा — अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर नेपालमा पनि देखिन थालेको छ। अमेरिका र इरानबीच बढ्दो तनावका कारण इन्धनको मूल्य चर्किएसँगै सबै खाले इन्धनको खपत पनि घटेको छ ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जले पछिल्लो समय पेट्रोल र डिजेलको बिक्रीमा गिरावट आएको जनाएको छ। निगमको अमलेखगन्ज डिपाले देशकै सर्वाधिक इन्धन आपूर्ति र बिक्री वितरण गर्छ ।

कार्यालयका अनुसार डिपोबाट मात्रै विगतमा दैनिक औसत पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले बिक्री घटेको हो। कार्यालय प्रमुख अशोक साहले पछिल्लो समय इन्धन बिक्रीमा कमी आएको स्वीकार गरे। ‘हालका दिनहरूमा दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको छ,' उनले भने, ‘सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल अमलेखगन्ज डिपोबाट बिक्री हुन्थ्यो ।’

त्यसैगरी मट्टीतेलको बिक्री पनि ह्वात्तै घटेको उनले बताए । यस अघि सातामा दुई दिन १ सय देखि २ सय किलोलिटर मट्टीतेल बिक्री हुँदै आएकामा हाल सातामा एक ट्यांकर मात्र मट्टीतेल बिक्री भइरहेको उनले बताए । मट्टीतेल विशेष गरी निर्माण व्यवसायीले खपत गर्ने गर्छन् । पछिल्लो समय निर्माण आयोजनाहरू पनि इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपले प्रभावित छन् ।

अमलेखगन्ज डिपोमा १७ हजार ७ सय ४८ किलोलिटर पेट्रोल र २५ हजार ८ सय ४३ किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ। उक्त भण्डारणले पेट्रोल सात दिन र डिजेल चार दिनसम्म धान्न सक्छ ।

साहले हाल भारतबाट पेट्रोलियम पदार्थ आयातमा कुनै समस्या नरहेको बताए। उनका अनुसार भारतीय आयल निगमबाट पाइपलाइनमार्फत एक चरणमा ११ हजार किलोलिटर पेट्रोल र २४ हजार किलोलिटर डिजेल आउँछ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully