आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्नेछन् ।
काठमाडौँ — सोमबार सुरु नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंगलबार पनि हुँदै छ । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले मंगलबार ७३ पदका निर्वाचन हुने बताए । ‘कुल ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन्,’ उनले भने, ‘मंगलबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुन्छ । उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्नेछन् । निर्वाचनको नतिजा बुधबार मात्रै घोषणा हुनेछ ।’
चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुने पौडेलले जनाए । ‘जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन् भने बाँकी सदस्यमा निर्वाचन हुनेछ,’ उनले भने, ‘पूर्वपदाधिकारी वा जितेकामध्ये तीन कार्यकाल कार्यसमितिमा रहेका जुनसुकै वरिष्ठ उपाध्यक्षको दाबेदार हुन सक्नेछन् ।’
एसोसिएसटतर्फ १ हजार ८ सय ५०, जिल्ला नगरतर्फ १ सय २९, वस्तुगत संघमा १ सय ७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेको उनले बताए ।
