आइतबार सम्पन्न महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो।
नवलपुर — नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा खिमनारायण पराजुली चयन भएका छन्। महासंघको नवलपुर गैंडाकोटमा सम्पन्न चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
आइतबार सम्पन्न महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा यज्ञप्रसाद पन्त, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी र एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट रहेका छन्।
खुला उपाध्यक्षहरूमा उपेन्द्र चौधरी, रामसुन्दर बके, प्रकाश पाण्डे र जनकराज पराजुली चयन भएका छन् । महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएकी छन्।
नयाँ कार्यसमितको महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की र उपमहासचिवमा कुमार थापा रहेका छन्। सचिवहरूमा चेत बहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी र केदारनाथ अधिकारी रहेका छन् भने सह–कोषाध्यक्षमा नेत्र प्रसाद आचार्य चयन भएका छन्।
नयाँ नेतृत्वले उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान, निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पराजुलीले बताए ।
उनले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै यसको अधिकार, सुरक्षा र सम्मानका लागि सशक्त आवाज उठाउने बताएका छन्। साथै, सरकारसँग सहकार्य गर्दै कर, वित्त, श्रम तथा व्यापारसम्बन्धी नीतिहरूलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन पहल गर्ने बताए ।
पराजुलीले साना तथा मझौला उद्यम क्षेत्रलाई सबल र सक्षम बनाउँदै राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउने बताए ।
