सीताराम डगौराको त्यो प्रयास, जसले बाढी प्रभावित क्षेत्रलाई बनायो चैते धानको हब ।
What you should know
कैलाली — कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि वर्खा सधौं त्रास बनेर आउँथ्यो । असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढीले एकै रातमा सखाप पारिदिन्थ्यो । मेहनत मोहना, कान्द्रा, काँढा र पथरैया नदीको भेलमा मिसिएपछि यहाँका किसानको चुलो बल्न धौ धौ हुन्थ्यो ।
तर अहिले परिस्थिति बदलिएको छ । बाढीसँग लड्न नसके पनि कैलालीका किसानले समयसँग सम्झौता गरेका छन् । अर्थात् बाढी आउनुअघि नै धान भित्र्याउने गरी चैते धानलाई जीविकोपार्जनको आधार बनाएका छन् ।
कैलाली बाढी तथा डुबानको उच्च जोखिममा पर्छ । बाढीले प्रत्येक वर्ष हजारौं घर परिवार प्रभावित र विस्थापित हुन्छन् । बेमौसमी वर्षाले विभिन्न क्षेत्रसँगै कृषिमा पनि ठूलो असर पर्छ । जसले स्थानीयलाई खाद्य असुरक्षाको सिकार बनाउँथ्यो ।
यो समस्याबाट बच्न किसानले चैतमै धान रोपेर जलवायु अनुकुलनको उपाय अपनाएका हुन् । माघको पहिलो साता बीउ राखेर असारको पहिलो हप्तासम्म १ सय २० दिनमा यो धान पाक्छ । उत्पादन पनि बर्खे धानभन्दा बढी हुने किसानहरू बताउँछन् ।
बाढीबाट सधौं प्रभावित हुने कैलालीको भजनी, टीकापुर, जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान विस्तार भएको छ । अझ भजनीका ३ र ८ नम्बर वडालाई धान जोन एरिया नै घोषणा गरिएको छ ।
गहुँ बाली मात्रै उत्पादन हुने यो क्षेत्रका किसान वर्षभरि चामल किनेर खान्थे । तर चैते धान विस्तारपछि अहिले धान बेचिरहेका छन् । यसले किसानलाई आर्थिक र मानसिक रूपमा ठूलो राहत पुर्याएको छ ।
यसको उदाहरण हुन्– पुन्सी लामा । भजनी नगरपालिका–८, कृष्णनगरकी ५० वर्षीया पुन्सीले चैते धानले परिवारलाई भोकमरीबाट जोगाएको बताइन् । उनी ४ वर्षयता निरन्तर यो धन रोपिरहेकी छन् ।
उत्पादन गरेको धान परिवारलाई वर्षभरि पुग्ने जति राखेर बाँकी बिक्री गर्छिन् । गत वर्ष मात्रै उनले ३० हजारको धान बेचेको बताइन् । ‘पहिला चैते धान रोप्ने चलन थिएन । बर्खामा धान फल्दैन थियो । कति समय त भोकै बस्नुपर्ने अवस्था आउँथ्यो,’ पुन्सी भन्छिन्, ‘हुने खानेले चामल बजारबाट किन्थे । पैसा नहुने जहिल्यै भोकमरीमा हुन्थे ।’
पुन्सीले २०४० सालदेखि बाढीको त्रास झेल्दै आएकी छन् । पहिलेको तुलनामा अहिले बाढी धेरै आउने र त्यसले खेतीपाती, घरपरिवार र दैनिक जीवनमा गम्भीर असर पार्ने उनको भनाइ छ ।
‘चैतमा धान रोप्दा पागल भन्थे’
यो क्षेत्रमा सुरुमा किसान आफैंले चैते धान लगाउन सुरु गरेका थिए । यसको राम्रो प्रभाव परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय र प्रदेश सरकारको ध्यान केन्दि्रत भयो । अहिले तीनै तहका सरकारको पहलमा चैते धान लगाउने किसानलाई अनुदान पनि वितरण गर्न थालिएको छ ।
भजनी–३ ढुसीका सीताराम डगौरा दुई दशकदेखि चैते धान लगाइरहेका छन् । आफू भजनीमा पहिलो पटक चैते धान लगाउने किसान भएको उनले बताए । सुरुमा ‘मुनवा’ जातको धानबाट उनले खेती सुरु गरेका थिए ।
सुरुवाती दिनमा यो धान लगाउँदा भोग्नु परेका चुनौतीको किस्सा उनी अहिले पनि सम्झन्छन् । ‘मैले चैतमा धान रोप्दा सबैले यो पागल भयो, असारमा रोप्ने धान चैतमा रोप्छ भने,’ सीताराम भन्छन्, ‘गाउँलेले कुलोबाट पानी समेत ल्याउन दिएनन् । पछि मैले जमिनमुनिबाट कुलो बनाइ खेतमा पानी लगेर धान रोपेको हुँ ।’ 
जब त्यो धान फल्यो, सबै जना छक्क परेको सीतारामले सुनाए । पछि धानको बीउ दिएर अरुलाई पनि रोप्न लगाएका थिए । अहिले सीतारामलेले साढे आठ बिघा क्षेत्रफलमा चैते धान रोपेका छन् । गत वर्ष मात्रै चार सय क्विन्टल धान बिक्री गरेका थिए । कैलालीमा प्रत्येक वर्ष चैते धान क्षेत्र विस्तार भइरहेको छ ।
कृषिज्ञान केन्द्र कैलालीको तथ्यांक अनुसार पछिल्ला पाँच वर्षमा चैते धानको क्षेत्र र उत्पादनको अवस्था :
आर्थिक वर्ष क्षेत्रफल (हेक्टर) उत्पादन (मेट्रिक टन)
२०७८/७९ ७१० १९८८
२०७९/८० ८५० २३८०
२०८०/८१ १२०० ३६००
२०८१/८२ १६६० ५४७८
२०८२/८३ १८०० ५९४० (अनुमानित)
यो तथ्यांकले जिल्लामा तीव्र रूपमा चैते धान विस्तार भइरहेको देखाउँछ । कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्ट क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्वको टे«न्ड पनि बढिरहेको बताउँछन् । आधुनिक प्रविधि, उन्नत जातका बीउ, पर्याप्त मात्रामा मलखाद हुने हो भने चैते धान सोचेभन्दा बढी उत्पादन हुने उनको भनाइ छ ।
सरकारको उच्च प्राथमिकतामा
सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण छ । आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको करिब ३३ प्रतिशत योगदान कृषि क्षेत्रको छ ।
अन्य उत्पादनजस्तै प्रदेशले चैते धानलाई पनि विशेष प्राथमिकतामा राखेको छ । प्रदेशको आव २०८२/८३ को बजेटमा यो धानलाई ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान अन्तर्गत विशेष कार्यक्रमको सूचीमा राखेको छ । यस अभियानका लागि ७० करोड ४० लाख बजेट विनियोजन भएको थियो ।
यो धान विस्तारमा प्रदेशसँगै कृषि ज्ञानकेन्द्र, राष्टि्रय कृषि आधुनिकीकरण कार्यक्रम र स्थानीय तह पनि अग्रसर भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार नेपालमा १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती भई ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । यसको औसत उत्पादकत्व ३.९७ टन प्रतिहेक्टर रहेको थियो ।
व्यवस्थित सिँचाइ पूर्वाधारको अभाव, चाँडो पाक्ने जातहरूको कमी र कटानीपश्चात् धान सुकाउने प्रविधिको सीमित प्रसारका कारण नेपालमा कुल धान उत्पादन हुने क्षेत्रफलमध्ये ७–९ प्रतिशत जमिनमा मात्र चैते धानको खेती भइरहेको तथ्यांकले देखाउँछ ।
नेपालमा चामलको माग तथा उपभोग आन्तरिक उत्पादनभन्दा अधिक भएकाले हरेक वर्ष चामलको आयात वृद्धि भइरहेको देखिन्छ । वर्षे धानको तुलनामा चैते धानको उत्पादकत्व बढी हुने भएकाले चामल आयात न्यूनीकरण गर्न चैते धान महत्त्वपूर्ण विकल्प हुन सक्ने जानकारहरू बताउँछन् ।
भजनी–८ कृषननगरका धीरज विक धानजोन एरियाका पूर्वअध्यक्ष हुन् । उनले अहिले दुई बिघाभन्दा बढी क्षेत्रफलमा चैते धान लगाएका छन् । विकका अनुसार बर्खामा धान नफल्ने क्षत्रका किसानलाई चैते धानले आत्मनिर्भर बनाएको छ ।
राष्टि्रय कृषि आधनुनिकीकरण परियोजना अन्तर्गत चैते धानमा काम गरेका उनी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न सके चामल आयात घटाउन सकिने बताउँछन् ।
‘यो धान उत्पादनमा सरकारले किसानलाई प्रोत्साहन गर्न सके नेपाल चामलमा आत्मनिर्भर बन्न सक्छ,’ विक भन्छन्, ‘किसानलाई आधुनिक यन्त्र, उन्नत बीउविजन र मलखाद अनुदान दिएर धानको उचित मूल्य दिने हो भने किसानले ठूलो मात्रामा धान उत्पादन गर्न सक्छन् ।’ यो कुरामा नेपाल कृषि अनुसन्धान परिषदका मुख्य वैज्ञानिक डा. भानुभक्त पोखरेल पनि सहमत छन् ।
तर कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी विष्ट भने ठूलो मात्रामा नभएर केही हदसम्म चामल आयात राक्न सक्ने बताउँछन् । ‘चैते धान बर्खेधान नफल्ने क्षेत्रमा मात्रै लगाइन्छ । त्यसैले यसले ठूलो मात्रामा आयात रोक्छ भन्न सकिँदैन । क्षेत्र विस्तार गरेर बर्खेसँगै चैते गरी दुई बाली धान फलाउन सकियो भने मात्र आयात घट्छ,’ उनले भने ।
नेपालमा बाहिरबाट मसिनो चामल आयात हुने हुँदा सरकारले मसिनो धान उत्पादनमा प्राथमिकतामा दिनुपर्ने उनको भनाइ छ
मारमा किसान, पाउँदैनन् उचित मूल्य
क्षेत्र विस्तार र उत्पादन बढेसँगै किसानका समस्या पनि बढिरहेका छन् । यो खेती गर्न किसानलाई अझै सहज बनेको छैन । सिँचाइ अभाव, महँगो खानजोत, सरकारी झन्झट र आधुनिक कृषि उपकरणको अभावसँग किसानको संघर्ष निरन्तर छ ।
कृषि ज्ञानकेन्द्र, स्थानीय तह, प्रदेश र कृषि आधुनिकीकरण कार्यक्रमले दिने अनुदान किसानका लागि पर्याप्त छैन । प्हिलो कुरा त चैते धानमा अनुदान पाउन कृषक अनिवार्य रूपमा कुनै समूह वा कृषि सहकारीमा जोडिनु पर्छ । स्वस्फूर्त रूपमा चैते धान रोपिरहेका किसान सरकारी लाभ लिन सक्दैनन् । 
अनुदान लिनयोग्य किसानलाई पनि अत्यधिक कागजी प्रक्रिया पार गर्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन् । धेरै विवरणसहित दर्जनौं कागज मिलाउनुपर्ने हुँदा समय र पैसा दुवै खर्च हुने उनीहरूको भनाइ छ ।
धानको उचित मूल्य नपाउनु अर्को ठूलो समस्या बनेको छ । सरकारले समर्थन मूल्य तोके पनि किसानहरू कम मूल्यमा धान बेच्न बाध्य भएको बताउँछन् । लगत जोडेर प्रतिकेजी ३५ देखि ३६ रुपैयाँ धानको मूल्य हुनुपर्ने किसानको माग छ ।
तर सरकारले यो धानको समर्थन मूल्य प्रतिकेजी २८ रुपैयाँ तोकेको छ । जसमा किसान सन्तुष्ट छैनन् । गत वर्ष २२ देखि २५ रुपैयाँ केजीमा धान बिक्री गरेर घाटा बेहोरेको उनीहरूको गुनासो छ ।
‘सरकारले जति समर्थन मूल्य तोके पनि हामी २२ सय रुपैयाँमै बेच्न बाध्य हुन्छांै,’ कृषक कृष्णा चौधरीले भनिन् । उनी १२ वर्षयता चैते धान रोपिरहेकी छन् । त्यसभन्दा अगाडि बर्खामा बाँझै खेत राख्ने उनले गत वर्ष मात्रै ४ लाखको धान बेचेको सुनाइन् । यो वर्ष चैते धानको उचित मूल्य नपाए अर्को वर्ष थोरै जमिनमा मात्र धान रोप्ने उनले सुनाइन् ।
धानको उचित मूल्य नपाएकोे गुनासो सबै किसानको छ । ‘हाम्रो धानको मूल्य हामीले तोक्न पाउँदैनांै । धान किन्ने मान्छेले यति मूल्यमा दिए धान लिन्छु, नत्र लिँदैनौं भनेर बार्गेनिङ गर्छन् । हामी बाध्य भएर घाटामा धान बेच्छांै,’ कृषक हीरालाल चौधरीले गुनासो गरे । उनले कृषि ज्ञान केन्द्रल पनि मोटो धानभन्दा मसिनो धानलाई प्राथमिकता दिने गरेको बताए ।
आधुनिक उपकरणको अभाव
खेतीका लागि पानी पुग्ने भए पनि पेट्रोल र डिजेलको मूल्यवृद्धिले खनजोत महँगो भएको किसानको भनाइ छ । किरा अत्यधिक लाग्ने हुँदा किटनाशक औषधि र मलखाद किन्न धेरै पैसा खर्च हुने अर्का किसान सीताराम डगौराले सुनाए । उनका अनुसार किसानका लागि सरकारी अनुदान पर्याप्त छैन ।
किसानलाई अर्को ठूलो समस्या धान पाकिसकेपछि पर्छ । धान पाक्ने र मनसुन सक्रिय हुने समय एउटै हुन्छ । यो अवस्थामा पानी परेर धानलाई क्षति पुर्याउँछ । वर्षाबाट धान जोगाउन ड्रायर मेसिन आवश्यक भए पनि खरिद गर्न सक्ने क्षमता आमकिसानको नरहेको किसानहरू नै बताउँछन् ।
कृषक हीरालाल चौधरी सबैभन्दा बढी आवश्यकता ड्रायर मेसिन र कम्बाइन हार्भेस्टरजस्ता ठूला कृषि उपकरणको भएको बताउँछन् । धान काट्ने, सुकाउने र सुरक्षित राख्ने कामका लागि यस्ता मेसिन अत्यावश्यक भए पनि साना किसानले आफैं किन्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।
असारमा धान पाक्ने बेला पानीले धान भिज्ने र सडकमा छोपेर राख्नु पर्ने बाध्यता छ । वर्षाबाट धान जोगाउन किसालाई थे्रसिङ फ्लोर पनि आवश्यक रहेको छ ।
अहिलेको बजार मूल्य अनुसार कम्वाइन हार्वेस्टरको मूल्य ३६ देखि ५५ लाखसम्म पर्छ । यस्तै ड्रायर मेसिन सानो ४ देखि ५ लाख र व्यावसायिक किसानका लागि ठूलो ड्रायर ६० लाख पर्ने मुक्तिनाथ कृषि कम्पनीका सुदूपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक हिक्मतराज उपाध्याय बताउँछन् ।
किसानलाई अत्यावश्यक यी दुबै मेसिन सरकारले ८५ प्रतिशत अनुदान दिनुपर्ने भजनी–८ धानजोन एरियाका पूर्वअध्यक्ष धीरज विक बताउँछन् । बाँकी १५ प्रतिशत किसान आफैं तिर्न सक्ने उनको भनाइ छ । अन्य किसानहरूले पनि सरकारले सहुलियतमा मेसिन उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।
विउजिन पनि समयमा उपलब्ध नहुने किसानहरू बताउँछन् । चैनी ४ र ५ धान रोपेका सीताराम अन्य धानको तुलनामा यो बढी फल्ने बताउँछन् । जुन मोटो चामल हुन्छ । सरकारी अनुदानमा पाइने हर्दीनाथ १, २, ३ र चैते ५ मसिनो चामलमा पर्छन् । कृषि ज्ञान केन्द्रले मसिनो धानलाई बढी प्राथमिकता दिने र अनुदानमा पनि यही बीउ दिने गरेको उनले सुनाए ।
माटोको उर्वराशक्ति जोगाउन विज्ञको सुझाव
बर्खायाममा आउने बाढी र डुबानका कारण मुख्य बाली भित्र्याउन नपाउने किसानहरूका लागि चैते धान भरपर्दो विकल्प बनेको छ । तर यो खेती गर्दा माटोको उर्वराशक्तिमा पर्न सक्ने असरबारे विज्ञहरूले सचेत गराएका छन् ।
धानलाई कृषि विज्ञानमा बढी पोषकतत्व सोस्ने बालीका रूपमा लिइन्छ । लगातार धान मात्रै लगाउँदा माटोको स्वास्थ्यमा असर पर्ने राष्टि्रय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका संयोजक डा. मथुरा यादव बताउँछन् । 
‘धानले माटोबाट धेरै पोषकतत्व लिन्छ, त्यसैले लगातार चैते धान मात्रै लगाइरहँदा माटो कमजोर बन्दै जान सक्छ । यसका लागि बीचमा कोसेबाली, मसुरो वा हरियो मल प्रयोग गरी ‘बाली चक्र’ अपनाउनु अनिवार्य छ,’ उनले भने, ‘यसले माटोमा नाइट्रोजनको मात्रा बढाउनुका साथै अर्गानिक म्याटर पनि सुधार गर्छ ।’
यद्यपि, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का मुख्य वैज्ञानिक डा. भानुभक्त पोखरेल व्यवस्थापन पक्ष सुधारेमा धान खेतीले मात्रै माटो नबिग्रने तर्क गर्छन् । डा. पोखरेल भन्छन्, ‘चैते र बर्खे धानले माटोको उर्वरा शक्तिमा त्यस्तो नकारात्मक असर गर्ने भन्ने हुँदैन । यदि हामीले सन्तुलित मलखादको प्रयोग गर्यौं भने माटोको शक्ति जोगाउन सकिन्छ ।’
उनले बिरुवालाई चाहिने पोषक तत्वका लागि रासायनिक मलसँगै गोबर मल र प्राङ्गारिक मलको सही मिश्रण मिलाउनु पर्ने बताए । डा.मथुरा यादवले पनि माटोको अवस्था अनुसारको प्रविधि र जात छनोटमा जोड दिएका छन् । विज्ञहरूका अनुसार माटोको उर्वराशक्ति जोगाउन धान काटिसकेपछि बाँकी रहने ठुटा र अवशेषलाई खेतमै पल्टाएर कुहाउनु र माटो परीक्षण गरी आवश्यक तत्वको पूर्ति गर्नु पर्छ ।
किसानहरूमा मोटो र मसिनो धानमा अन्योल देखिएकाले कृषि अनुसन्धान परिषद् मख्य वैज्ञानिक डा. पोखरेलले चैते–५ (मसिनो धान) लगाउन सुझाव दिए । उनका अनुसार यो मध्यम खालको, उत्पादनमा राम्रो र बजारमा माग बढी भएको जात हो । जसले मसिनो चामल आयात घटाउनमा समेत सहयोग पुग्छ । चैते धानमा बर्खे धानभन्दा बढी घाम लाग्ने भएकाले यसको उत्पादकत्व बढी हुने डा. पोखरेलले बताए ।
त्यसैले यो धान किसानका लागि अवसर भए पनि माटोको दीर्घकालीन स्वास्थ्यका लागि सन्तुलित मलखाद, बाली चक्र र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ । सरकारले चैते धान उत्पादनमा मात्र जोड दिएको डा.पोखरेलले बताए ।
उनका अनुसार उत्पादनमा उत्साह देखिए पनि बजार र प्रविधिको सुनिश्चितता हुन सके मात्र कैलालीका किसानको यो सफल प्रयासले दीर्घकालीन रूपमा सार्थकता पाउने देखिन्छ ।
