मुख्य सिजनमै आन्तरिक वायुसेवा कम्पनी संकटमा, जहाज उडाउनै मुस्किल

हवाई इन्धनको मूल्य १ सय १२ प्रतिशतले महँगियो, ३० प्रतिशतले घटे आन्तरिक यात्रु

वैशाख २१, २०८३

सुरज कुँवर

Domestic airlines in crisis during peak season, finding it difficult to fly

What you should know

काठमाडौँ — पर्यटनका लागि सबैभन्दा व्यस्त मानिने मार्च, अप्रिल र मे महिनामै आन्तरिक हवाई बजार अप्रत्याशित रूपमा सुस्ताएको छ । अघिल्लो वर्षको तुलनामा यात्रु संख्या झन्डै ३० प्रतिशतले घट्दा वायुसेवा कम्पनी खर्च थेग्न नसक्ने दबाबमा परेका छन् । 

जहाज उडान सञ्चालनमै अप्ठ्यारो पर्न थालेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको उल्लेख गर्दै सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन बिहीबार पत्र पठाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्रमार्फत संघले इन्धन मूल्य वृद्धि, घट्दो यात्रु संख्या, प्राधिकरणलाई तिर्नुपर्ने चर्को भाडादर र अन्तर्राष्ट्रिय परिस्थितिका कारण हवाई सेवा क्षेत्र अत्यन्त दबाबमा परेको जनाउँदै राहत मागेको हो । कोरोना महामारीपछिको असर अझै पूर्ण रूपमा हट्न नसक्दा र पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताले हवाई इन्धनको मूल्य उल्लेखनीय रूपमा बढाएको संघका अध्यक्ष प्रतापजंग पाण्डेको भनाइ छ । 

सन् २०२५ को अप्रिलमा आन्तरिक उडानतर्फ सुगम रुटमा सञ्चालन हुने वायुसेवाले ४ लाख १५ हजार हाराहारी यात्रुलाई सेवा दिएका थिए । यस वर्षको सोही महिनामा भने २ लाख ९६ हजार हाराहारी यात्रुमा सीमित हुनुपरेको छ । यो करिब ३० प्रतिशतको गिरावट हो । ‘गत वर्षको यही अवधिको तुलनामा अहिले दिनको करिब २ हजार ५ सय यात्रु घटिरहेका छन्,’ वायुसेवा सञ्चालक संघमा आबद्ध यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले भने, ‘बुद्ध, यती र श्री जस्ता प्रमुख कम्पनीले मात्रै करिब ३० प्रतिशतसम्म यात्रु गुमाएका छन् ।’ 

गत वर्षको यही अवधिको तुलनामा अहिले दिनको करिब २ हजार ५ सय यात्रु घटिरहेका छन्। बुद्ध, यती र श्री जस्ता प्रमुख कम्पनीले मात्रै करिब ३० प्रतिशतसम्म यात्रु गुमाएका छन्।युवराज विष्ट, चिफ बिजनेस अफिसर, यती एयरलाइन्स बुद्ध एयरका अनुसार, यो गिरावटको मुख्य कारण भूराजनीतिक तनाव र त्यसबाट बढेको इन्धन मूल्य अनि डलर सटहीको वृद्धि हो । २०८२ मध्य फागुनतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य चर्किएको थियो । त्यसको प्रत्यक्ष असर नेपालको हवाई यातायातमा पनि देखिएको हो । 

नेपाल आयल निगमले ११ चैत २०८२ मा प्रतिलिटर १ सय २७ रुपैयाँमा बिक्री गरिरहेको हवाई इन्धनको मूल्य एकै सातामै झन्डै दोब्बर बनाउँदै १९ चैतमा २ सय ५१ रुपैयाँ पुर्‍यायो । त्यसयता आन्तरिक उडानको मागमा तीव्र गिरावट देखिन थालेको वायुसेवा सञ्चालक संघका अध्यक्ष पाण्डेले बताए । 

पछिल्ला दिनमा हवाई इन्धनको मूल्य वृद्धि क्रमशः सुस्त भए पनि १७ वैशाख २०८३ सम्म आइपुग्दा हवाई इन्धन प्रतिलिटर २ सय ६० रुपैयाँ नाघेको छ । ३५ दिनमै करिब १ सय १२ प्रतिशतले मूल्य वृद्धि हुँदा वायुसेवा कम्पनीहरूको लागत अकासिएको छ भने यात्रु माग घटेको छ । नेपालमा हवाई इन्धनको मूल्य थपघट हुँदा त्यसै अनुपातमा आन्तरिक उडानको हवाई टिकटमा फ्युल सरचार्ज फेरबदल हुन्छ । इन्धनको मूल्य वृद्धिले हवाई भाडामा कम्तीमा १ हजार ५ सयदेखि लामो दूरीमा झन्डै ६ हजार रुपैयाँसम्म वृद्धि भएको छ । जसकारण निम्न मध्यमवर्गीय हवाई यात्रुले जहाज छाडेर सडकमार्ग प्रयोग गर्न थालेको वायुसेवा कम्पनीहरूको बुझाइ छ । 

इन्धन मात्र होइन, विनिमय दरले पनि वायुसेवा कम्पनीलाई थप दबाब सिर्जना गरेको छ । एक वर्षको अवधिमा अमेरिकी डलरको सटही दर करिब १६ रुपैयाँ ५२ पैसाले बढ्दा जहाजका पार्टपुर्जा, पाइलटको तालिम, इन्जिन मर्मत खर्चलगायतमा लागत महँगिएको छ । यता विदेशी पर्यटक आगमनमा समेत सामान्य गिरावट देखिएको छ । 

अप्रिल २०२५ मा नेपालमा १ लाख १६ हजार ४ सय ९० विदेशी पर्यटक आएका थिए, जुन त्यस समयको उच्च थियो । तर अप्रिल २०२६ मा यो संख्या घटेर १ लाख ७ हजार ९ सय ३४ मा झरेको देखिन्छ । यसअनुसार सन् २०२६ को सोही अवधिमा पर्यटक आगमन ८ हजार ५ सय ५६ ले कमी अर्थात् करिब ७.३ प्रतिशत घटेको अध्यागमन विभागको तथ्यांक छ ।

मार्चमा १ लाख २० हजार विदेशी पर्यटक नेपाल आएका थिए, जुन अघिल्लो वर्षको तुलनामा करिब १ हजार १ सयले कम थियो । 

समग्रमा, पर्यटकको पिक सिजनमै इन्धन मूल्य, विनिमय दर र कमजोर मागको ‘त्रिपक्षीय दबाब’ ले आन्तरिक हवाई बजारलाई सुस्त बनाएको देखिन्छ । नेपाल आउने पर्यटक विशेषगरी पदयात्रामा आउनेहरूको संख्यामा कमी आउँदा आम्दानी घटेको र वायुसेवा कम्पनीले दैनिक सञ्चालनमै समस्या भोगिरहेको पर्यटनमन्त्री खडकराज पौडेललाई पठाएको पत्रमा उल्लेख छ । 

‘यस्तै अवस्था कायम रहे सेवा नै बन्द गर्नुपर्ने जोखिम रहेको’ भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंसहित देशभरका विमानस्थलमा लिने ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ह्यांगरलगायत शुल्कमा कम्तीमा ५० प्रतिशत दस्तुरमा छुट दिए वायुसेवा कम्पनीले संकटबाट राहत पाउने उनीहरूको भनाइ छ । 

प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी आन्तरिक उडानमा लाग्ने शुल्क घटाउनुपर्ने पनि माग संघको छ । हवाई सेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगका रूपमा व्यवहार गर्दै कर छुट तथा प्रोत्साहन दिनुपर्ने तथा हाल अमेरिकी डलरमा प्राधिकरणले लिँदै आएका शुल्क नेपाली रुपैयाँमै निर्धारण गर्नुपर्ने, मौसम सेवाको १० डलर प्रतिउडानका दरले प्राधिकरणले लिने शुल्क हटाउनुपर्नेलगायत माग पनि पत्रमा छन् ।

मन्त्रालयमा बिहीबार दर्ता गराइएको पत्रमा सरकारले वायुसेवाहरूको माग समयमै सम्बोधन नगरे आन्तरिक वायुसेवा क्षेत्र अझै संकटतर्फ धकेलिने चेतावनीसमेत दिइएको छ । वायुसेवा सञ्चालक संघले बुझाएको पत्रबारे अध्ययन गरेर आवश्यक कदम चाल्ने पर्यटनमन्त्री पौडेलको भनाइ छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully