निजी क्षेत्रलाई आश्वस्त पार्ने रास्वपाको प्रयास

सरकारले निजी क्षेत्रलाई साथमै लिएर मुलुकको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्य राखेको र सोहीअनुसारको कार्यशैली अपनाउने रास्वपाको दाबी

वैशाख २०, २०८३

जयसिंह महरा

RSP's efforts to reassure the private sector

काठमाडौँ — सरकार बनेलगत्तै भइरहेका कतिपय गतिविधिलाई लिएर संशय पैदा भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले निजी क्षेत्रलाई आफ्नो व्यवसायमा ध्यान दिन र राज्यका निकायबाट नतर्सिन आश्वस्त पारेको छ । रास्वपाका सभापति रवि लामिछानेले निजी क्षेत्रका विभिन्न संस्थालाई सरकारले निजी क्षेत्रलाई साथमै लिएर मुलुकको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्य राखेको र सोहीअनुसारको कार्यशैली अपनाउने भनी आश्वस्त पार्ने प्रयास गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले व्यवसायीलाई राज्यका नीति र कानुनले संरक्षण गर्ने भन्दै व्यावसायिक काममा लाग्न आग्रह गरे । ‘निजी क्षेत्रलाई अगाडि नबढाईकन मुलुकले कुनै पनि लक्ष्य हासिल गर्न सक्दैन । झन् यो सरकारको लक्ष्यका लागि त निजी क्षेत्रको मनोबल पनि उच्च हुनुपर्छ,’ उनले भने ।

सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चालिरहँदा कतिपय व्यापारिक घराना अनुसन्धानको राडारमा परेका छन् । प्रधानमन्त्रीमा वालेन्द्र शाह नियुक्त भएलगत्तै विभिन्न क्षेत्रमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अनुसन्धानका क्रममा ९१ वर्ष पुरानो व्यावसायिक घराना शंकर ग्रुप अनुसन्धानमा तानिएको छ । ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परी छुटेका छन् । उनका छोरा सुलभ अग्रवाल हिरासतमै छन् ।

विवादास्पद व्यापारी दीपक भट्टसमेत पक्राउ परी अनुसन्धानका लागि हिरासतमा छन् । बिमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासमेत पक्राउ परेका छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको र अन्य उद्योगी व्यवसायीसमेत अनुसन्धानको दायरमा तानिएका छन् । यस्तो पृष्ठभूमिमा निजी क्षेत्रले व्यावसायिक वातावरण बिग्रिएको र आत्मबल खस्किएको भन्दै गुनासो गरिरहेको छ ।

०००

निजी क्षेत्रलाई अगाडि नबढाई मुलुकले कुनै पनि लक्ष्य हासिल गर्न सक्दैन, यो सरकारको लक्ष्यका लागि त निजी क्षेत्रको मनोबल उच्च हुनैपर्छ - रवि लामिछाने, सभापति, रास्वपा)

०००

पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ - चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

०००

सार्वजनिक र निजी क्षेत्रबीच विद्यमान ‘विश्वासको संकट’ सुधार्दै लैजानुपर्छ, यसले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र स्वदेशमै रोजगारी बढाउँछ - वीरेन्द्रराज पाण्डे. अध्यक्ष, नेपाल उद्योग परिसंघ

०००

सरकारले रोजगारीका लागि लिएको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रको सहयोग आवश्यक रहेको रास्वपा सभापति लामिछानेले प्रस्ट्याए । ‘सरकारले दिने रोजगारी १० जनामा आफ्नो क्षमताले एक–दुई जनालाई दिन सक्छ । बाँकी ८–९ जनालाई निजी क्षेत्रले नै रोजगारी दिने हो । त्यसकारण हाम्रो त्यो लक्ष्य जति मानिसलाई हामी रोजगारी सिर्जना गर्छौं भन्ने कुराको लक्ष्य लिएका छौं, त्यसका लागि पनि यहाँहरूको आवश्यकता छ,’ उनले भने ।

अहिलेको सरकार रास्वपाले चुनावअघिको वाचापत्र हेरेर चल्ने सभापति लामिछानेको भनाइ छ । जनताले पार्टीको वाचापत्र हेरेर नै भोट दिएको र निजी क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको उनले बताए । उद्योगी व्यवसायीको मनोबल उच्च राख्न अन्तरक्रियामा आएको उनको प्रस्टोक्ति छ । पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको सुनेकाले पनि आश्वस्त पार्न आफूले परामर्श गर्न लागेको उनले सुनाए । सरकारले सुशासन कायम गर्न चालेका कदमलाई सहज रूपमा लिइदिन आग्रह गर्दै लामिछानेले भने, ‘हामी मिलेरै काम गर्ने हो । कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनै पनि उद्देश्य सरकारको छैन ।’

विगतमा मुलुकको अर्थतन्त्र नै ढाल्ने गरी राज्यका संयन्त्र कब्जा गरी भएका कामलाई भने छानबिनको दायरामा ल्याइने उनको भनाइ छ । त्यस्ता काममा सहयोग गर्न पनि उद्योगीहरूलाई उनले आग्रह गरे । विगतमा राजनीतिक दलका गतिविधिले गर्दा उद्योगीहरूले पनि सीमा मिचेको सभापति लामिछानेको दाबी छ । आगामी दिनमा राज्यले नै उद्योगीहरूलाई नीतिबाट संरक्षण गर्ने उनले बताए ।

‘कहिलेकाहीँ परिस्थितिले, कानुनी अप्ठ्याराले, राजनीतिक परिवेशले र अस्थिर राजनीतिको सिकार बनेर तपाईंहरू बाध्य भएर कैयौं राजनीतिक दल र नेताको ढोका ढकढक्याउन बाध्य हुनुभएको छ, उनीहरूको स्वार्थ पूरा गरिदिँदा तपाईंहरूले कहिलेकाहीँ मूल्य र मान्यताको सीमारेखा पार गर्नुभएको छ भन्ने हामी बुझ्दैनौं र,’ लामिछानेले भने, ‘तपाईंहरू निर्धक्क हुनुहोला, यसमा कुनै पनि चिन्ता गर्नुपर्ने आवश्यकता मैले देखेको छैन ।’

अर्थतन्त्रसँग सम्बन्धित संस्थाहरूलाई कब्जा गर्ने परिपाटी अन्त्य गर्न पनि सरकारले धावा बोलेको सभापति लामिछानेले जनाए । ती कुरामा परिवर्तन चाहिएको र त्यसका लागि काम गरिएको उनको भनाइ छ । सरकारले चालेका कदमले निजी क्षेत्रलाई सहयोग पुग्ने लामिछानेको दाबी छ ।

सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका क्रममा राज्यका निकायले व्यवसायीको ढोका ढकढक्याए त्यसलाई समग्र निजी क्षेत्रको प्रतिष्ठाको विषय नबनाई अनुसन्धानमा सहयोग पुर्‍याउन सभापति लामिछानेले आग्रह गरे । ‘हामी पोलिसी राम्रो बनाएर तपार्इंहरूलाई संरक्षण गर्छौं । खालि के भने यो ट्रान्जिसन फेजमा भएको हुनाले यसबीचमा भएका बेथितिलाई अलिकति गभर्नेन्सका कुराको चाहिँ दृष्टिकोणले हामी केही इन्भेस्टिगेसन गरिरहेका छौं । त्यसमा कहीँकतै तपाईंको ढोका ढकढक भएछ भने सफाइ दिनुस् । अल्टिमेट्ली आर्थिक अपराधसँग जोडिएका मुद्दामा आर्थिक दृष्टिकोणले नै हेर्नुपर्छ । त्यसलाई आपराधिक दृष्टिकोणले हेर्नु हुँदैन भन्ने कुरामा हामी एकदमै स्पष्ट छौं,’ लामिछानेले भने ।

सरकारले विगतमा भएका ठूल्ठूला घोटालाको छानबिनमा सहयोग गर्दा आगामी पुस्ताका लागि समेत राम्रो व्यावसायिक वातावरण बन्ने उनको भनाइ छ । राज्यले निजी क्षेत्रलाई कानुन र नीतिद्वारा नै संरक्षण गर्ने भएकाले उद्योगीहरूले आगामी दिनमा कुनै पनि राजनीतिक दल र पार्टी कार्यालयको दैलो टेक्नुपर्ने अवस्था नआउने सभापति लामिछानेले बताए ।

सरकारको नेतृत्व गरिरहेको दलको नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनः स्थापित हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । मुलुकमा निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको उनले जनाए ।

‘पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ । यसले आगामी दिनमा थप लगानी भित्र्याउन, व्यावसायिक क्रियाकलाप विस्तार गर्न र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ,’ अध्यक्ष ढकालले भने ।

लामो समयपछि एकल राजनीतिक दलको बलियो सरकार गठन भएको अवस्थामा नेपालमा लगानीको वातावरण राम्रो बन्ने र वैदेशिक लगानी ल्याउन पहल हुनुपर्ने महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले जनाए । रास्वपा र सरकारको नेतृत्वबीचको सम्बन्ध कस्तो हुने हो भन्ने विषयले नेपालमा लगानीको वातावरण निर्धारण हुने व्यवसायी आनन्दराज मुल्मीको भनाइ छ । जवाफमा सभापति लामिछानेले पार्टी नेतृत्व र सरकारको नेतृत्वको कार्यविभाजन स्पष्ट गरिएकाले कुनै समस्या आउला भन्ने चिन्ता नगरी लगानी र व्यवसायमा लाग्न निजी क्षेत्रलाई आश्वस्त पारे । नेपालमा धेरै कानुन र नियामक निकाय हुँदा लगानी गर्न निजी क्षेत्रलाई समस्या भइरहेको, राजधानीबाहिर व्यवसाय सञ्चालन गर्दा आइपर्ने झन्झट अन्त्य गर्न व्यवसायी मुल्मीले आग्रह गरे ।

भ्रष्टाचार किन भइरहेको छ भन्ने बुझ्न जरुरी रहेको महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले बताए । ‘भ्रष्टाचार एकतर्फी होइन, बाध्यताले हो । भ्रष्टाचार निर्मूल गर्नु ठीक हो । तर कसरी हटाउने भन्ने विषयमा अलिकति सोचेर कदम चाल्नु जरुरी छ,’ उनले भने । व्यवसायीका कुनै पनि फाइल राज्यका निकायले घूस नलिई अगाडि बढाइदिए कुनै पनि उद्योगीले भ्रष्टाचारमा संलग्नता नलिने उनको भनाइ छ ।

मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए । सार्वजनिक र निजी क्षेत्रबीच विद्यमान ‘विश्वासको संकट’ लाई सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए । ‘व्यावसायिक वातावरणमा स्पष्टता र पूर्वानुमानयोग्य भए मात्र लगानीकर्ताको आत्मविश्वास बढ्छ । यसले अन्ततः उत्पादन वृद्धि, आयात प्रतिस्थापन र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न मद्दत पुर्‍याउँछ ।’

निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले जनाए । राज्यका तर्फबाट नीतिगत, व्यावसायिक र शान्तिसुरक्षाको प्रतिबद्धता चाहिएको उनको भनाइ छ । ‘पहिला सुन्नुपर्‍यो, त्यसपछि थुन्नुपर्‍यो,’ उनले भने । व्यवसायमा संलग्न व्यक्तिलाई कारबाही गर्दा विगतमा व्यवसाय तथा उद्योग नै धराशायी भएको र व्यवसायीमाथि कारबाही हुँदा व्यवसाय बन्द नहुने वातावरणको सुनिश्चितता गर्नुपर्ने उनले जनाए ।

सरकारको नेतृत्व गरिरहेको रास्वपाले आगामी ५ वर्ष कसरी काम गर्ने भन्नेबारे निजी क्षेत्रसँग छलफल गर्नुपर्ने व्यवसायी जुना माथेमाले बताइन् । निजी क्षेत्रलाई सरकारले द्रुत गतिमा काम गर्न चाहेको र त्यसमा ढुक्क भएर सहयोग गर्न सभापति लामिछानेले आग्रह गरे । भौतिक पूर्वाधार वर्षौंसम्म निर्माण हुन नसकेको र निजी क्षेत्रको सहयोगमा सरकारले काम गर्न चाहेको उनको भनाइ छ । आगामी दिनमा आर्थिक कूटनीति अपनाउने स्पष्ट पार्दै लामिछानेले भारत र चीनको बीचमा रहेको नेपालले दुवै मुलुकबाट आर्थिक लाभ लिनुपर्ने धारणा राखे ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully