९ महिनामा मेची भन्सारबाट १० अर्ब ७० करोडको अलैँची निर्यात

गत वर्षको यही अवधिको तुलनामा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको हो

वैशाख १८, २०८३

आनन्द गौतम

Cardamom exports worth Rs 10.7 billion from Mechi Customs in 9 months

ताप्लेजुङ — मेची भन्सार कार्यालयबाट काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १० अर्ब ७० करोड ७ लाख १८ हजार  रुपैयाँको अलैँची निर्यात भएको छ ।

गत वर्षको यही अवधिको तुलनामा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको हो । यस अवधिमा ५ हजार २९५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । गत आर्थिक वर्षको यही अवधिमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा उत्पादन हुने अधिकांश अलैंची काकरभिट्टा नाका भएर भारत निर्यात हुने गरेको छ । पहिला विराटनगर, जीरगन्जबाट पनि निर्यात हुने गरेको थियो । तर, पछिल्ला वर्ष अधिकांश अलैँची काकरभिट्टा भएर भारत जाने गरेको छ । नेपालको ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ ।

मेची भन्साबाट चालु आवको चैत मसान्तसम्ममा १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully