नेपालमा फ्लाइट डेटा मनिटरिङ कार्यशाला

नेपालमै पहिलोपटक प्रणाली कार्यान्वयनमा केन्द्रित यस्तो कार्यक्रम आयोजना गरिएको हो, जसले हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने दिशामा नयाँ आधार तयार गरेको भनिएको छ ।

वैशाख १७, २०८३

सुरज कुँवर

Flight data monitoring workshop in Nepal

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक फ्लाइट डेटा मनिटरिङ तथा विश्लेषणमार्फत उड्डयन सुरक्षा विषयमा एक दिने सघन प्राविधिक कार्यशाला आयोजना गरेको छ । नेपालमै पहिलोपटक प्रणाली कार्यान्वयनमा केन्द्रित यस्तो कार्यक्रम आयोजना गरिएको हो, जसले हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने दिशामा नयाँ आधार तयार गरेको भनिएको छ ।

कार्यशाला पुल्चोक क्याम्पसअन्तर्गतको मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागमा आयोजना गरिएको थियो । कार्यक्रममा करिब ६५ जना सहभागी थिए, जसमा हवाई सेवा कम्पनी, नियामक निकाय, शैक्षिक क्षेत्र तथा सरकारी अधिकारीहरू थिए ।

कार्यक्रममा उडानसम्बन्धी तथ्यांकहरूको विश्लेषणमार्फत सम्भावित जोखिम पहिचान गरी हवाई दुर्घटना न्यूनीकरण गर्ने विषयमा विशेष जोड दिइयो । विज्ञहरूले फ्लाइट डेटा मनिटरिङ प्रणालीले परम्परागत प्रतिक्रियात्मक प्रणालीबाट अघि बढ्दै जोखिम पूर्वानुमान गरी सुरक्षालाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने बताएका थिए ।

पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोलका अनुसार, फ्लाइट डेटा मनिटरिङ प्रणालीको प्रभावकारी कार्यान्वयनले उड्डयन सुरक्षालाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्छ । डेटा–आधारित निर्णय प्रणालीमार्फत सम्भावित जोखिमहरू पहिचान गरी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

Flight data monitoring workshop in Nepal

कार्यशालाको प्राविधिक नेतृत्व पुल्चोक क्याम्पसका विभागीय प्रमुख डा. सुदीप भट्टराईले गरेका थिए । साथै हिमालय एयरलाइन्सले आफ्नो व्यावहारिक अनुभव प्रस्तुत गर्दै उडान जोखिम पहिचान र अन्तर्राष्ट्रिय मापदण्डका सफल अभ्यासहरूबारे जानकारी गराएको थियो ।

विभिन्न हवाई सेवा कम्पनीका प्रतिनिधिहरूले आफ्ना संस्थामा संचालित फ्लाइट डेटा मनिटरिङ कार्यान्वयनको अवस्था र अनुभव पनि साझा गरेका थिए । कार्यशालाले फ्लाइट डेटा मनिटरिङ  कार्यान्वयनमा देखिएका चुनौती, सम्भावित समाधान तथा नेपालको सन्दर्भमा लागू गर्न सकिने उपायबारे विस्तृत छलफल गरेको थियो।

कार्यशालाले नेपालको उड्डयन सुरक्षालाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने दिशामा महत्त्वपूर्ण योगदान दिएको सहसचिव डंगोलले बताए । आगामी दिनमा फ्लाइट डेटा मनिटरिङ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएमा नेपालको आकाश अझ सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully