सडक खण्डको दुवैतर्फ ७ मिटर चौडा ‘क्यारिज वे’ र साढे दुई मिटर चौडा ‘सोल्जर’ निर्माणसँगै १२ मिटर चौडा बनाइने उल्लेख छ ।
What you should know
काठमाडौं — एमसीए–नेपालद्वारा पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही सडक खण्ड (४० किलोमिटर) स्तरोन्नति सुरु भएको छ । दाङमा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सडक खण्ड स्तरोन्नतिको उद्घाटन गरेका हुन् ।
उनले सडकको गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिएकोमा सराहना गरे । ‘यो राजमार्गमा निर्भर हाम्रो प्रदेश र यहाँका जनताका लागि सडक स्तरोन्नति अग्रगामी कदम हो । सडक स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना गर्नेछ,’ उनले भने ।
यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला–लमही सडक खण्ड स्तरोन्नति दुई देशबीचको साझेदारीका सन्दर्भमा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए । ‘एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौं,’ उनले भने, ‘यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव सुशीलबाबु ढकालले एमसीए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको बताए । यो सहकार्यले सबल पूर्वाधार निर्माण र हाम्रा समुदायहरूका लागि आर्थिक अवसर विस्तारप्रति हाम्रो साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने उनको भनाइ छ । यस्तो महत्वपूर्ण आयोजना समयमै सम्पन्न हुने विश्वास उनले व्यक्त गरे ।
एमसीसीका राष्ट्रिय आवासीय उप-निर्देशक सञ्जय पौड्यालले राजमार्ग स्तरोन्नतिले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधिहरू प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसीसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको बताए ।
यस सडक स्तरोन्नति तथा मर्मतका लागि गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट निकै लाभदायी अत्याधुनिक निर्माण प्रविधि ‘फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिन लागेको एमसीए नेपालले जनाएको छ ।
बलियो एवं टिकाउ सडक निर्माण गरेर, पहिल्यै भएका ‘आस्फाल्ट’ पदार्थ पुनःप्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दो तथा लागत प्रभावकारी बनाउन सहयोग गर्ने एमसीएको विज्ञप्तिमा उल्लेख छ ।
आयोजनामार्फत सडकको दुवैतर्फ ७ मिटर चौडा ‘क्यारिज वे’ र साढे दुई मिटर चौडा ‘सोल्जर’ निर्माण गरी सडकलाई १२ मिटर चौडा बनाइने उल्लेख छ ।
कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही सडक खण्ड स्तरोन्नति थालनी एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण कदम भएको बताए । ‘एमसीए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध छ,’ उनले भने ।
सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपूर्ण अंश हो र यसले ढुवानी लागत घटाउने तथा नेपालका सडकको अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ ।
एमसीए–नेपाल मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) नेपाल सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजनाहरू कार्यान्वयनका लागि बैशाख २०७५ मा विकास समिति ऐन, २०१३ अन्तर्गत गठन गरेको सरकारी स्वामित्वको कानुनी निकाय हो ।
