जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत गैरुन, राजाबास, चुहाडे क्षेत्रका होटल, पसल तथा बजार अनुगमन गर्दा त्रियुगा नगरपालिका–९ राजाबासस्थित खार्पाली एग्रो एण्ड सप्लायर्समा लुकाएर राखेको अवस्थामा मल फेला परेको हो ।
What you should know
उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा कालोबजारी गरेर ल्याइएको ३३ बोरा मल नियन्त्रणमा लिइएको छ ।
स्थानीय कृषकका लागि सहकारीमार्फत अनुदानमा आएको मल कालोबजारी गरी बेच्न राखेको अवस्थामा अनुगमन टोलीले युरिया १५ बोरा, डीएपी १० बोरा र पोटास ७ बोरा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत गैरुन, राजाबास, चुहाडे क्षेत्रका होटल, पसल तथा बजार अनुगमन गर्दा त्रियुगा नगरपालिका–९ राजाबासस्थित खार्पाली एग्रो एण्ड सप्लायर्समा लुकाएर राखेको अवस्थामा मल फेला परेको हो ।
अनधिकृत रूपमा रासायनिक मल बिक्री गर्ने गरेको देखिएपछि मल नियन्त्रणमा लिएर थप अनुसन्धान र कारबाहीका लागि त्रियुगा नगरपालिकालाई पठाइएको अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए । सप्लायर्सका संचालक मञ्जु खनालले त्रियुगा नगरपालिका–१६ नम्बर वडा कार्यालयका पशु प्राविधिक समेत रहेका दिनेश पोखरेलले जाल्पा चिलाउनेस्थित ज्योति सहकारीबाट मल ल्याएर आफूलाई दिएको बताइन् ।
त्रियुगा-१६ का वडाध्यक्ष मानबहादुर राईले समेत मल बेच्न पाइन्छ, केही हुँदैन भनेपछि बिक्रीका लागि राखेको उनले बताइन् । किसानलाई मलको अभाव भइरहेको अवस्थामा बजारमा कालोबजारी गरेर बिक्री वितरण गर्ने जोकोहीलाई कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
हाइवे लाइनका १३ वटा पसलमा अनुगमन गरिएकामा ३ वटा पसलमा म्याद गुज्रिएका सामान फेला परेकाले जफत गरेर नष्ट गरिएको छ । मल र किराना पसलमा भेटिएका म्याद गुज्रिएका ५७ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार किराना पसलहरूलाई भने पहिलो पटकका लागि सचेत गराएर छाडिएको छ । अनुगमन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, त्रियुगा नगरपालिका, उद्योग वाणिज्य संघ लगायतको सहभागितामा गरिएको थियो ।
