दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम धमाधम

दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोडअनलोड सेडलगायतको निर्माण कार्य एकसाथ चलिरहेको छ ।

वैशाख १४, २०८३

भवानी भट्ट

Work on Dodhara Chandni dry port in full swing

What you should know

कञ्चनपुर — महाकाली नदीपारिको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण स्थलमा यतिबेला निकै चहलपहल छ । सुक्खा बन्दरगाहका विभिन्न संरचना निर्माणको काम धमाधम चलिरहेकाले उक्त क्षेत्रमा ढुवानीका साधनको ओहोरदोहोरदेखि कामदारको व्यस्तताले चहलहपल बढाएको हो ।

वैसाखको चर्को घाममा समेत उक्त क्षेत्रमा धमाधम काम भइरहेको छ । घेरबार लगाउनेदेखि बन्दरगाहका अन्य संरचना निर्माण कार्य चलिरहेको छ । अहिले उक्त क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोडअनलोड सेडलगायतको निर्माण कार्य एकसाथ चलिरहेको छ । 

‘अहिले भरानदेखि भौतिक संरचना निर्माणको काम सँगै चलिरहेको छ,’ सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी कम्प्ट कन्सट्रक्सनका प्रतिनिधि तेजबहादुर चन्दले भने, ‘तीन महिनादेखि नियमित रुपमा सुक्खा बन्दरगाहको काम चलिरहेको छ ।’ उनका अनुसार निर्माण कम्पनीले २४ महिनाभित्र निर्माण सक्ने लक्ष्यकासाथ अहिले तीब्र गतिमा काम गरिरहेको छ । 

भारत सरकारको सहयोगमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहका लागि भारतकै निर्माण कम्पनी कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्नेगरी गत साउनमा ठेक्का सम्झौता भएको थियो । इण्टरमोडल यातायात विकास समितिले निर्माणका लागि साउनमै साइड हस्तान्तरण गरेको थियो । त्यतिबेलादेखि नै उक्त क्षेत्र सफा गर्ने र सम्याउने काम सुरु गरिएको हो । ‘अहिले सुक्खा बन्दरगाहको काम तीब्र गतिमा भइरहेको छ,’ इण्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले भने, ‘पर्खाल, आवास क्षेत्रदेखि आवश्यक भौतिक संरचना लगायतको काम चलिरहेको छ ।’ उनका अनुसार अहिले मलेरिया नालामा पुल निर्माणको काम पनि भइरहेको छ । सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति ८ प्रतिशत नाँघेको छ । निर्माण कार्य अनुगमनको काम भारतकै राइट्स लिमिटेडले गरिरहेको छ । इण्टरमोडल यातायात विकास समितिले सहजीकरणको काम गरिरहेको छ । 

बन्दरगाह निर्माणका लागि कम्पनीले निर्माण सामग्रीदेखि उपकरण सबै भारतबाटै ल्याएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन खाली गरिएको हो । उक्त वनमा रहेका १ हजार ७ सय २ रुख कटान गरिएको थियो । अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचनाहरु निर्माण भइरहेका हुन् ।

सुक्खा बन्दरगाह निर्माणकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि मलेरिया नालासम्म ८ किलोमिटर बढी ६ लेनको पहुँच मार्ग निर्माण भइसकेको छ । बन्दरगाह निर्माण भएपछि यस क्षेत्रमा व्यावसायिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । भारततर्फ पनि राष्ट्रिय राजमार्गको जोगबुडा क्षेत्रबाट सुक्खा बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण भइरहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully