चालु आवको चैत महिना सम्ममा यो नाका हुँदै १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरको इन्धन आयात हुँदा ६० अर्ब ३८ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
पर्सा — इन्धन भित्रिने देशको प्रमुख नाका वीरगन्जबाट चालु आर्थिक वर्षको चैत महिनासम्ममा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बढीको इन्धन आयात भएको छ । यस वर्ष तुलनात्मक रुपमा खाना पकाउने एलपी ग्यास र मट्टितेलको आयात घट्दा पनि इन्धन आयातमा हुने खर्च घटनुको साटो झन् बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आवको चैत महिना सम्ममा यो नाका हुँदै १ खर्ब ४० अर्ब १० करोड रुपैयाँ बराबरको इन्धन आयात हुँदा ५७ अर्ब ५३ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आवको चैत महिना सम्ममा यो नाका हुँदै १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरको इन्धन आयात हुँदा ६० अर्ब ३८ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षको चैत महिना सम्ममा यो नाका हुँदै ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको ७ लाख ९८ हजार किलोलिटर डिजेल आयात भएको थियो भने चालु आवको यसै अवधिमा ७८ अर्ब ७९ करोड रुपैयाँ बराबरको ८० लाख ८७ हजार किलोलिटर डिजेल आयात भएको छ । गत आवको चैत महिना सम्ममा यो नाका हुँदै २८ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३ लाख २६ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आवको यसै अवधिमा ३१ अर्ब ८ करोड रुपैयाँ बराबरको ३ लाख ५९ हजार किलोलिटर पेट्रोल आयात भएको छ ।
गत आवको चैत महिना सम्ममा यो नाका हुँदै २७ अर्ब ३४ करोड रुपैयाँ बराबरको २३ करोड ८२ लाख किलो एलपी ग्यास आयात भएकोमा चालु आवको यसै अवधिमा २३ अर्ब ३ करोड रुपैयाँ बराबरको २२ करोड ४८ लाख किलो एलपी ग्यास आयात भएको छ ।
गत आवको चैत महिना सम्ममा यो नाका हुँदै १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको १ लाख ३८ हजार किलो लिटर हवाई इन्धन आयात भएकोमा चालु आवको यसै अवधिमा १४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ लाख ४१ हजार किलो लिटर हवाई इन्धन आयात भएको छ । गत आवको चैत महिना सम्ममा ४७ करोड रुपैयाँ बराबरको ५ हजार १ सय ६० किलोलिटर मट्टितेल यो नाका हुँदै आयात भएकोमा चालु आवको चैत महिना सम्ममा भने ३७ करोड रुपैयाँ बराबरको ४ हजार २ सय किलोलिटर मट्टितेल आयात भएको छ । ग्रामीण तथा वैकल्पिक ऊर्जाको प्रयोग बढ्दै जाँदा यसको खपत घट्दै गएको देखिन्छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम इन्धनको वैकल्पिक स्रोतहरुको पहिचान गर्दै तीनको प्रयोगलाई प्रोत्साहित गर्ने तथा विद्युतीय सवारी साधनको प्रयोग नबढाए सम्म बर्सेनि इन्धन आयातबाट ठूलो रकम बाहिरिने क्रम जारी रहने बताउँछन् । ‘यो गम्भीर चिन्ताको विषय पनि हो,’ उनले भने, ‘विश्वका विकसित राष्ट्रहरुले वैकल्पिक ऊर्जा र विद्युतीय सवारी साधनको प्रयोग अत्यधिक बढाइ सक्दा हामी भने अझै इन्धन युगमै सिमित हुनु राम्रो संकेत होइन ।’
