गुन्द्रुकको गुणस्तर मापदण्ड तोकियो

प्याकेटमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमको विवरण राख्नुपर्नेछ । लेबलमा गुन्द्रुक बनाउन प्रयोग गरिएको सागपातको नाम र प्रकार (ताजा, सुक्खा वा सुकेको) प्रस्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

वैशाख ११, २०८३

कान्तिपुर संवाददाता

Quality standards for gunpowder set

What you should know

काठमाडौँ — अबदेखि उपभोक्ताले खरिद गर्ने गुन्द्रुक थप सुरक्षित र गुणस्तरीय हुने भएको छ। सरकारले मानव उपभोगका लागि उत्पादन र बिक्री वितरण गरिने गुन्द्रुकको गुणस्तरसम्बन्धी स्पष्ट मापदण्ड लागू गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ को अधिकारी प्रयोग गरी  गुन्द्रुकको परिभाषादेखि यसको प्रशोधन र प्याकेजिङसम्मका मापदण्ड तोकेको छ ।

गुणस्तर ऐन, २०८१ को दफा ३ मा सरकारले समयसमयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्ने उल्लेख छ । दफा ३ को उपदफा २ मा निर्धारण गरिएको स्वच्छता तथा गुणस्तर कायम गर्नू/ गराउन सम्बन्धित सबैको कर्तव्य हुने समेत उल्लेख छ ।

रायो, तोरी, मूलाको पात वा डुकुजस्ता सागपातलाई नुन नहाली प्राकृतिक वा ल्याक्टिक एसिड किण्वन विधिद्वारा अमिल्याएर तयार पारिएको खाद्य पदार्थ नै गुन्द्रुक हो । 

किण्वन प्रक्रिया(फर्मेन्टेसन) का लागि फलाम, एल्युमिनियम, तामा वा पित्तलका भाँडा प्रयोग गर्न पूर्णतः निषेध गरिएको छ। 'गुन्द्रुकमा ढुसी वा किरा परेको हुनुहुँदैन। साथै, रौं, भुस, चोकर, पराल, कपडाका टुक्रा, किरा वा मुसाका अंश (जैविक बाह्य पदार्थ) तथा ढुंगा, माटो, सिसा, प्लास्टिक वा धातुका टुक्रा (अजैविक बाह्य पदार्थ) भेटिनु हुँदैन,' राजपत्रमा जारी गुन्द्रुकको गुणस्तर मापदण्डसम्बन्धी सूचनामा उल्लेख छ । 

गुन्द्रुकमा कुनै पनि प्रकारका अखाद्य रंग, सुगन्ध वा परिरक्षी (प्रिजरभेटिभ्स) राख्न पाइनेसमेत उल्लेख छ ।सुक्खा गुन्द्रुकमा जलांश (मोइस्चर) १२ प्रतिशतभन्दा बढी हुन नहुने, कुल भष्म १७ प्रतिशत र एसिडमा नघुल्ने भष्म १ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड तोकिएको छ।  स्वास्थ्यका लागि हानिकारक मानिने 'ई-कोली' जीवाणु प्रति ग्राममा शून्य हुनुपर्नेछ मापदण्डमा उल्लेख छ ।

गुन्द्रुकमा रहने जीवनाशक विषादीका अवशेष र हेभी मेटल्सको मात्रा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेबमोजिम हुनुपर्नेछ। अब गुन्द्रुक प्याक गर्दा खाद्य ग्रेडको सफा र सुक्खा सामग्रीको प्रयोग अनिवार्य गरिएको छ। प्याकेटमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमको विवरण राख्नुपर्नेछ। लेबलमा गुन्द्रुक बनाउन प्रयोग गरिएको सागपातको नाम र प्रकार (ताजा, सुक्खा वा सुकेको) प्रस्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले उत्पादन, भण्डारण र ढुवानीमा समेत मन्त्रालयले तोकेको स्वच्छता मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। नेपालीको भान्सामा लोकप्रिय रहेको गुन्द्रुकको गुणस्तर सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने बताइएको छ । 

कान्तिपुर

Link copied successfully