प्रस्तावित उक्त आयोजनाको निर्माणसँगै हिउँदमा भारतबाट हुँदै आएको विद्युत् आयातमा कटौती हुने नेपाल विद्युत् प्राधिकरणको दाबी रहेको छ ।
हेटौंडा — मकवानपुरको कुलेखानी जलाशयको पानीबाट नेपाल विद्युत् प्राधिकरणले थप एक सय मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा कुलेखानी सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने कार्यलाई अगाडि बढाएको हो । नेपालको यो पहिलो पम्पिङ जलाशयुक्त विद्युत् आयोजना हुने छ ।
प्रस्तावित उक्त आयोजनाको निर्माणसँगै हिउँदमा भारतबाट हुँदै आएको विद्युत् आयातमा कटौती हुने नेपाल विद्युत् प्राधिकरणको दाबी रहेको छ । इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन प्राधिकरणले पम्प जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव कार्यान्वयन गर्ने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारणका लागि सार्वजनिक रुपमा राय सुझाव उपलब्ध गराउन भनेको छ ।
प्राधिकरणले पालिकाका प्रभावित वडामा पुगेर समीक्षा र राय संकलनसमेत गरेको छ । उक्त आयोजनाबाट इन्द्रसरोवर गाउापालिकाको १, २ र ३ प्रभावित हुने भएको छ । प्रभावित हुने वडा इन्द्रसरोवर गाउँपालिका–१,२ र ३ वडामा प्रस्तावित आयोजनाका वारेमा अन्तरक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।
‘आयोजनाबाट प्रभावित क्षेत्रको मानव बस्ती, भौतिक, आर्थिक, सामाजिक, प्राकृतिकलगायतका क्षेत्रमा पर्ने प्रभावहरुका बारेमा छलफलसँगै समस्याको समाधानका लागि रायसुझाव संकलन गर्ने कार्य गरिएको छ,’ उनले भने । विद्युत् प्राधिकरणद्वारा इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा संकलन भएको पानीलाई कुलेखानी खोलामा झारेर विद्युत् उत्पादन गर्ने गरी प्रस्तावित आयोजनाबाट ऊर्जाको उच्च माग रहेको समयमा दैनिक ६ देखि १० घण्टासम्म विद्युत् उत्पादन गर्ने योजना बनाइएको नेपाल विद्युत् प्राधिकरणका प्रवन्धक सुर्येनाथ भुर्तेलले बताए ।
‘यो पम्पिङ जलाशययुक्त विद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाउन डिपिआरलगायत प्रभावित क्षेत्रमा पुगेर विभिन्न सुझाव संकलन गर्ने कार्य गरिरहेका छौं’, उनले भने । प्रस्तावित आयोजनाले विद्यमान इन्द्रसरोवरलाई माथिल्लो जलाशयको रुपमा प्रयोग गर्ने र उक्त जलाशयको बाँधस्थलभन्दा करिब तीन किलोमिटर तल इन्द्रसरोवर गापा–२, राङ्चे नजिक कुलेखानी खोलामा ३६ मिटर अग्लो नयाँ बाँध निर्माण गरी तल्लो जलाशय निर्माण हुनेछ । उक्त जलाशयको भण्डारण क्षमता १५ लाख ४० हजार घन मिटर रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
इन्द्रसरोवरको पानीलाई इन्द्रसरोवर गापा–२ स्थित कलंकी नजिकै इन्टेक निर्माण गरी करिब १ दशमलब ९ किलोमिटर लम्बाईको सुरुङ मार्फत कुलेखानी खोलाको बायाँ किनारमा रहेको लिप्पानेमा प्रस्तावित विद्युत् गृहमा पानी खसाइनेछ र टेलरेसबाट निस्केको पानीलाई तल्लो जलाशयमा भण्डारण गर्ने गरी आयोजना प्रस्ताव गरिएको छ ।
विद्युत्को माग कम भएको समयमा तल्लो जलाशयमा भण्डारण भएको पानीलाई सोही सुरुङमार्फत पम्प गरी पुनः इन्द्रसरोवरमा तानिने भएको छ । ‘जलाशयको पानी तलमाथि गरेर थप विद्युत् उत्पादन गर्ने प्रणालीलाई पम्पिङ जलाशययुक्त विद्युत् आयोजना भनिन्छ,’ प्रबन्धक भुर्तेलले भने । प्रस्तावित आयोजनाबाट विद्यमान इन्द्रसरोवरको भण्डारण क्षमतामा कुनै परिवर्तन नहुने प्राधिकरणको भनाइ छ ।
पूर्ण क्षमतामा दैनिक रुपमा आयोजना सञ्चालन हुँदा इन्द्रसरोवरको जलस्तरमा अधिकतम २० मिटरसम्म थपघट हुनेछ भने तल्लो जलाशयको जलस्तरमा अधिकतम २३ दशमलब ५ मिटरसम्म थपघट हुनेछ । साथै यस आयोजनाको विद्युतगृहमा प्रति युनिट ५० मेगावाट क्षमताका दुई वटा टर्वाइन जडान गर्ने योजना बनाइएको छ । आयोजनाको डिजाइन बहाव ६८ दशमलव १२ घनमिटर प्रति सेकेन्ड रहने छ । आयोजनाको कुल लागत १५ अर्ब लाग्ने अनुमान गरिएको छ ।
प्राधिकरणले आयोजनाको प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन (ईआए) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने जनाएको छ । सो क्रममा त्यस क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साास्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्छ गाउँपालिका तथा त्यसक्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव उपलब्ध आग्रह गरेको छ ।
कुलेखानी जलविद्युत् आयोजना प्रथमवाट ६०, दोस्रोवाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । वर्षेनी जलाधार क्षेत्रवाट खोलाले बगाएर ल्याउने ढुङ्गा, माटो, बालुवा र पातपतिङ्गर जलाशयमा थुपार्ने कारणले गर्दां सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साँघुरिँदै गएको छ ।
सुरु सञ्चालनको अवस्थामा कुलेखानी जलाशयमा ८५ दशमलब ३ मिलियन क्युसेक पानी अट्ने क्षमता थियो । त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ । कुलेखानी सञ्चालनमा आएको ४४ वर्षमा १५ मिटर भन्दाबढी जलाशयको पिधको सतह बृद्धि भएको छ । सरोवरको सतह वढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो ।
विद्युत् उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ । जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक ३१ करोड रुपैयाँमा भन्दावढी नोक्सानी व्यहोर्दै आएको छ ।
२०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संकलन भएको पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलन भएकोमध्ये ५० मिटरमात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४६ मिटरमात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।
जलाशयमा ‘डेव्रिज’हरु यसरी थुप्रिँदै गएपछि विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिने पानीको सतह न्युन हुँदै गएको छ । २०५० सालमा आएको बाढीले जलाशयको पिँधको सतह ६ मिटर बढेको थियो । वर्षेनी जलायशको सतह वृद्धि हुँदै गएको छ । मानव निर्मित जलाशयमा अहिले १ लाख ७० हजार मिटर क्यु ‘डेव्रिज’ संकलित भएको कुलेखानी प्रथमका एक इन्जिनियर बताए ।
‘जलाशयमा संकलित भएका ‘डेव्रिज’हरु (वालुवा, माटो, पातपतिङ्गर र ढुङ्गा) नझिकेमा क्रमश कुलेखानी पहिलो, दोस्रो र निर्माणाधिन तेस्रो जलविद्युत आयोजनाको उपादेयतामा ह्रास आउँछ’ उनले भने । जलाशयमा संकलन भएको ढुङ्गा, माटो र लेदोहरु झिक्नका लागि जलाशय पुरै खाली गर्नुपर्छ । इन्द्रसरोवरको निर्माण एक करोड २० लाख अमेरिकन डलरमा गरिएको थियो ।
