नेपाली आयातकर्तालाई पनि कार्गो ह्यान्डलिङ सेवा सुचारु

भारतीय रेल्वेको भगिनी संस्था कोंकोरले सोमबारदेखि उक्त सेवा नेपालका लागि पुनः सन्चालनमा ल्याएको हो ।

वैशाख ९, २०८३

शंकर आचार्य

Cargo handling services resumed for Nepali importers as well

What you should know

पर्सा — दुई दशकदेखि वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेसनको यार्डबाट बन्द रहेको नेपालतर्फको कार्गो ह्यान्डलिङ सेवा बुधबारदेखि सुचारु भएको छ । भारतीय रेल्वेको भगिनी संस्था कोंकोरले सोमबारदेखि उक्त सेवा नेपालका लागि पुनः सन्चालनमा ल्याएको हो । 

पर्सा-बारा औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजले भारतको झारखण्डस्थित जमशेदपुर टाटानगरबाट आयात गरेको ९० कन्टेनर स्पन्ज आइरन कोंकरले सोझै रक्सौलस्थित रेल्वे स्टेसनको यार्डबाटै हस्तान्तरण गरेको हो ।

कोंकरका अधिकृत विष्णुकान्त चौधरीका अनुसार कोंकरले आफ्नै रेल्वे र्‍याक र कन्टेनरबाट उक्त ढुवानी सेवा दिएर सोझै रक्सौल रेल्वे स्टेसनमा आयातित बस्तु सम्बन्धित आयातकर्तालाई जिम्मा लगाएको हो । यसरी भारतीय रेल्वे स्टेसनमै नेपाली आयातकर्तालाई जिम्मा लगाइने बस्तु मालवाहक ट्रकबाट ढुवानी गरेर नेपाल भन्सार बिन्दुमा प्रवेश गर्नका लागि रक्सौलस्थित भारतीय एकीकृत सुरक्षा जाँच चौकी (ल्यान्ड पोर्ट अथोरिटी) मा ग्रिन च्यानलका लागि ४ नम्बरको डेडिकेटेड लाइन (बाटो र ढोका) उपलब्ध गराइएको छ ।

उक्त ट्रक वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा प्रवेश गर्नका लागि चौकीको १० नम्बर लेन उपलब्ध गराइएको छ । यो डेडिकेटेड लेनबाट भारतीय रेल्वे स्टेसनमा नेपाली पक्षले बुझेको आफ्नो मालबस्तु नेपाल ल्याउन सहज र छरितो मार्ग पाएका छन् । अन्य मालवाहक सवारी जस्तो यी सवारीले घण्टौं लाममा बस्नु पर्दैन । जसले गर्दा नेपाली आयातकर्ताले भारतबाट सोझै नेपाली भन्सार बिन्दुमा प्रवेश पाउने र आफ्नो मालबस्तु छिटो पाएर सक्दो छिटो कन्टेनर भारतीय रेल्वेलाई फिर्ता पठाउँदा भारतीय रेल्वे र सिपिङ लाइन कम्पनीहरुलाई तिर्नुपर्ने अतिरिक्त शुल्क पनि जोगिनेछ ।

यसरी भारत तथा तेस्रो मुलुकबाट नेपाली आयातकर्ताले आयात गर्ने मालबस्तु सहज रुपमा नेपाल भित्रिने र ढुवानी लागत मूल्य पनि कम हुन जाने भएकाले नेपाली आयातकर्ताले थप राहत पाउने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन् । ‘यो स्वागतयोग्य काम हो,’ उनले भने, ‘नेपाली आयातकर्ता सक्टो छिटो आफ्नो मालबस्तु जाँचपास गराएर कन्टेनर फिर्ता गर्न पाउँदा धेरै राहत हुन्छ ।’

कोंकरका अधिकृत चौधरीले पहिलो पटक बुधबार ९० कन्टेनरमा स्पन्ज आइरन भारतबाटै नेपालका लागि कोंकरले आफ्नै रेल्वे र्‍याक र कन्टेरनमा ढुवानी गरी ल्याएकामा अब नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालबस्तुको हकमा पनि यस्तो खालको ढुवानी सेवा दिने काम अन्तिम चरणमा रहेको बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully