नागढुंगा सुरुङमार्ग सञ्चालनमा किन भइरहेको छ ढिलाइ ?

सेवा प्रदायक कम्पनीले तालिम दिएर जनशक्ति तयार गर्नासाथ सञ्चालन गरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

वैशाख ८, २०८३

विमल खतिवडा

Why is there a delay in the operation of the Nagdhunga Tunnel?

What you should know

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण ९८ प्रतिशत सकिएको छ । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीसँग यही साताभित्र सम्झौता हुँदै छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क पनि तोकिसकिएको छ । तर सुरुङ सञ्चालन हुन सकेको छैन ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपाल सेवा प्रदायक कम्पनीले तालिम दिएर जनशक्ति तयार गर्नसाथ सञ्चालन गर्न समस्या नरहेको बताउँछन् । जनशक्ति तयार पार्ने काम सेवाप्रदायक कम्पनीको हो । सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । कम्पनीले पाउने घोषणा गरिएको भए पनि सम्झौता हुने अन्तिम चरणमा छ ।

‘सञ्चालन गर्ने जिम्मेवारी पाउन लागेका कम्पनीले सम्झौताका लागि चाहिने आवश्यक कागजात तयार पारिरहेका छन्,’ निर्देशक नेपालले भने, ‘यो साताभित्र सम्झौता गर्ने तयारी छ, त्यसपछि कम्पनी फिल्डमा परिचालित हुनेछ ।’ त्यसो भए सवारी साधनका लागि कहिलेबाट यो सुरुङ खुला हुन्छ ? निर्देशक नेपाल भन्छन्, ‘पूर्णरूपमा तयार नभई सार्वजनिक रूपमा सुरुङ खोल्ने कुरा भएन, फेरि यात्रुको सुरक्षाको पनि कुरा छ, त्यसैले सम्झौता भएको मितिले तीन महिनाभित्र सञ्चालनमा आउँछ ।’ यो विषय सेवा प्रदायक कम्पनीसँग सम्झौता गर्ने क्रममा उल्लेख हुने उनले सुनाए ।

सेवा प्रदायक कम्पनी छनोट भइसकेपछि पनि सुरुङ सञ्चालनमा यति धेरै समय लाग्छ र ? निर्देशक नेपाल थप्छन्, ‘सम्झौता भएपछि बल्ल सुरुङमार्गमा काम गर्ने १ सय ५० जना कर्मचारीलाई सुरुङ सञ्चालनसम्बन्धी तालिम दिने हो, सुरुङ चौबिसै घण्टा चल्छ, यस्तो ठाउँमा काम गर्ने कर्मचारीलाई राम्रोसँग तालिम दिएर मात्र काममा लगाउनुपर्ने भएकाले समय लाग्छ ।’

तालिममा सडक विभागका कर्मचारी, आयोजनाका कर्मचारी, परामर्शदाता कम्पनीका विज्ञ समूह, निर्माण कम्पनीका प्राविधिक टोली हुने निर्देशक नेपाल बताउँछन् । ‘केही समय त्यहाँ काम गर्न छनोट भएका कर्मचारीलाई सुरुङभित्रको प्रणालीमा अभ्यस्त बनाइनेछ ।’ कर्मचारीलाई काठमाडौंको किसिपिडीमा रहेको फ्लाइओभरदेखि सुरुङमार्ग भएर धादिङतर्फ निस्कने सुरुङमा काम गर्नेबारे सिकाइनेछ ।

सम्झौता भएको तीन महिनाभित्र सेवा प्रदायक कम्पनीले जनशक्तिलाई तालिम दिने काम सकिसक्नुपर्ने छ । तर योबीचमा वैशाख अन्तिमतिर सुरुङको परीक्षण सञ्चालन गर्न सकिने उनको भनाइ छ । सम्झौता भएको मितिले तीन महिना भनेको साउन दोस्रो साता पुग्छ । ‘बर्खायाममा सुरुङमार्ग सञ्चालनमा आउने छ,’ उनले भने । धादिङतर्फको पहिरो व्यवस्थापनको काम र टोल प्लाजा (शुल्क लिने ठाउँ) निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनायो ।

अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । सञ्चालनको जिम्मा लिने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । सेवा प्रदायकले चौबिसै घण्टा सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । छानिएको सेवा प्रदायक कम्पनीले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनलाई तोकियो शुल्क

सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क तोकिएको छ । सरकारले राजपत्रमा प्रकाशित गर्दै शुल्क लागू गरेको जनाएको छ । जसअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको अनुमान छ ।

त्यस्तै मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको भनाइ छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ ।

ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।

यी सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ । यस्ता सवारीसाधनले सुरुङमार्गभन्दा बाहिर रहेको नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्न पाउने छन् ।

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले तोकिएको शुल्क ‘डिजिटल्ली’ नै तिर्ने व्यवस्था मिलाइने सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । ‘बोर्डमा अहिले कर्मचारी विनियमावली तयार नहुँदा जनशक्ति कम छ,’ उनले भने, ‘त्यसैले चिनियाँ कम्पनी छनोट गरेर शुल्क उठाउने व्यवस्था गर्छौं, त्यसको निगरानी बोर्डले गर्छ, यो सुरुङमार्ग नेपालका लागि नितान्त नयाँ प्रविधि पनि हो, यस्तोमा काम गरेका अनुभवी कर्मचारी पनि छैनन् ।’ सुरुङ सञ्चालनमा आएको ६ महिनादेखि एक वर्षभित्र शुल्क तिर्ने कुरामा उच्च प्रविधिको प्रयोग गरेर छिटो र छरितो बनाउँदै लगिने उनको दाबी छ ।

४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । तर पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएको हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । सुरुङ निर्माणमा जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । करिब साढे ५ अर्ब रुपैयाँ ऋण थप गर्ने तयारीसहितको कागजात अर्थ मन्त्रालयमा पुगे पनि यसको प्रक्रिया टुंगिइसकेको छैन । सुरुङ निर्माणको म्याद १२ वैशाख २०८३ सम्म छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully