सरकाले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनकालागि पहिल्यै तय गरेको शुल्क बिहीबार राजपत्रमा प्रकाशित गरेको छ ।
What you should know
काठमाडौं — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनकालागि सेवाप्रदायिक कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी हुँदै छ । सुरुङ सञ्चालनकालागि युसिन–एआरटी जेभी छानिएका हुन् । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो ।
वैसाखअन्तिमदेखि सुरुङको परीक्षण सञ्चालन सुरु गर्ने तयारी भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । छानिएको कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन, मर्मत र ट्राफिक व्यवस्थापन गर्नेछ ।
सरकाले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनकालागि पहिल्यै तय गरेको शुल्क बिहीबार राजपत्रमा प्रकाशित गर्दै लागू गरेको जनाएको छ । जसअनुसार कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको अनुमान छ । त्यस्तै मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको भनाइ छ ।
बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत २५ चैतमा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । तर पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएको हो । ९८ प्रतिशत निर्माण सकिसकेको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । निर्माणको काम सकिए पनि सेवाप्रदायक कम्पनी समयमै छनौट नहुँदा सुरुङ सञ्चालनमा ढिलाई भएको हो ।
